कृषकको माग अधिक, ‘कृषि नगर’को क्षमता न्यून !

काभ्रेपलाञ्चोक: पाँचखाल नगरपालिकाले ‘पाँचखाल नगर ः कृषि सहर’को नारा अवलम्बन गरेको पाँच वर्ष बित्यो । स्थानीय तहमा अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिको नगर–नारामा झुमेका यहाँका अधिकांश कृषक बर्सेनि उनीहरुको आश्वासनमा झुलिरहनुपर्ने बाध्यता रहँदै आएका देखिन्छन् ।

गत आर्थिक वर्षमा कृषि सामग्री माग गरेकामध्ये करिब १५ प्रतिशत कृषकलाई चालु आर्थिक वर्षमा सामग्री वितरण गरिएको नगर कृषि शाखाले जनाएको छ । गत वर्ष कृषकलाई प्रदान गर्नुपर्ने कृषि सामग्रीमध्ये ६६ पावर टिलर) हाले ट्रयाक्टर, १० पानी तान्ने पम्प, १५ च्याप कटर (भुसा काट्ने मेसिन), विषादी छर्ने पम्प ८४ वितरण गरिएको शाखा प्रमुख ईश्वर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वितरित सामग्री विशेष पकेट क्षेत्रलाई प्राथमिकतामा राखिएको हो ।

“कृषि सामग्री माग गरिएभन्दा निकै कम वितरण हुँदै आएको छ, नगरको कृषि क्षेत्रको बजेटले धान्दैन”, शाखा प्रमुख अधिकारीले भन्नुभयो । उहाँका अनुसार विगत पाँच वर्षको अवधिमा प्रत्येक आर्थिक वर्षमा कृषकले माग गरेकामध्ये १५ देखि ३० प्रतिशतसम्मलाई मात्र अनुदानमा वितरण गर्न सकिएको छ ।

नगरले कृषकलाई आधुनिकता एवं व्यावसायिकता उन्मुख गर्दै लैजाने उद्देश्यले यान्त्रीकरणलगायत सामग्री ५० प्रतिशत अनुदानमा प्रदान गर्दै आएको हो । स्थानीय कृषकले नगरको कृषि शाखामा चालु आवमा मौरी घारका लागि माग फारम भर्न थालेका छन् । मौरीघार नगरको पकेट क्षेत्र मानिएको ९ नं वडास्थित पलाञ्चोकमा वितरण गरिने योजना बनाइएको छ । “कृषकबाट प्राप्त निवेदनउपर छनोट गर्दा पकेट क्षेत्र तोकिएको स्थानलाई प्राथमिकतामा राख्ने गरिएको छ”, उहाँले भन्नुभयो ।

यसैगरी, अघिल्लो आवमा नगरका पाँच सय ५६ कृषकले प्लाष्टिक टनेल माग गरेकामा ९९, ११० पावर स्प्रेयर(विषादी छर्ने पम्प)मागमध्ये ४०, मिनी पावर टेलर एक सय छ मागमध्ये २४, जेनेरेटर ५४ मागमध्ये १०, इलेक्ट्रिक पम्प ९० मागमध्ये ३४ मौरीघार एक सय ४५ मागमध्ये ८३ र ८५ गोठ सुधार कार्यक्रम मागेकामा ३० वटा मात्रै दिइएको थियो ।

शाखाको तथ्याङ्कका अनुसार कृषकको माग बर्सेनि बढ्दोदरमा रहेको देखिन्छ तर, नपाको न्यून बजेटले कृषकका माग सम्बोधन गर्न नसकेको देखाएको छ । त्यसो त, नगरको नारा र कृषिमा विनियोजित वार्षिक बजेटको तारतम्य नमिलेको प्रष्ट देखिन्छ । विगत पाँच वर्षदेखि नगरले वार्षिक रु ३० लाखको हाराहारीमा कृषि क्षेत्रमा बजेट छुट्याउँदै आएको छ । शाखा प्रमुख अधिकारीले भन्नुभयो, “बजेट कम हुँदा कृषकको माग सम्बोधन गर्न सकिएको छैन ।” कृषिअन्तर्गत फलफूलका क्षेत्रमा पर्याप्त बजेट नहुँदा कार्यक्रम प्रभावित बन्दै गएको उहाँले बताउनुभयो ।

बर्सेनि न्यून बजेटले पाँचखाल नगरको नाराले सार्थकता नपाउने पूर्ववडाध्यक्ष पुष्कर ढकाल बताउनुहुन्छ । “यही अनुपातमा बजेट विनियोजित भए पाँच वर्षमा डेढ करोड मात्रै हो, डेढ करोडले कसरी कृषि सहर बन्छ ?”, उहाँले प्रतिप्रश्न गर्नुभयो । कृषिमा वार्षिक बजेट नथपिए कृषिमा आधुनिकीकरणअन्तर्गत कृषकका माग पूरागर्न नसकिने उहाँको दुःखेसो छ ।

परम्परागत कृषि प्रणालीमै उत्पादन भइरहनु तथा कृषिलाई आधुनिकीकरणतर्फ लैजान प्रविधि र सामग्रीको पर्याप्तता नहुनुनै ‘कृषि नगर’लाई सार्थकता बनाउन हम्महम्मे परेको सरोकारवाला बताउँछन् । ६ नं वडाका कृषक केदार ढुङ्गानाले कृषकको मागमध्ये कम्तीमा ५० प्रतिशतलाई सामग्री उपलब्ध गराउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अन्यभन्दा कृषिलाई बजेट बढी बनाउनुपर्छ अनि मात्रै कृषि सहरमा राम्रो उत्पादन हुन्छ, त्यसपछि अर्गानिक उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ ।”

नगरप्रमुखमा दोस्रोपटक निर्वाचित महेश खरेल यस कार्यकालमा भने नगरको नारालाई सार्थकता बनाउने दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजेट बढाउने प्रयास गरिरहेका छौँ, आगामी वर्षको बजेटका लागि उल्लेख्य प्रगति देखिन थालेको छ ।” उहाँले कृषि र पशुपालन क्षेत्रमा लगानीकर्ता भित्र्याउने तयारी गरिरहेको बताउनुभयो । “कृषिलगायत क्षेत्रका लागि लगानी सम्मेलनको योजना पनि बनाएका छौँ”, खरेल भन्नुहुन्छ । उहाँले पाँचखालको समग्र विकासका लागि लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्ने योजना बनाइएको बताउनुभयो । “पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरु भएको यस अवसरमा लागानी सम्मेलन फलदायी हुने अपेक्षामा छौँ”, उहाँले भन्नुभयो ।

‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरले यसअघिनै पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गर्न नगरको योजना छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?