सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो

कञ्चनपुर:सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा औलो नियन्त्रण कार्यक्रमका अनुसार सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ८१ रहेको छ । सुदूरपश्चिम प्रदेशपछि लुम्बिनी प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ५८ रहेको छ ।

कर्णालीमा ४८, मधेसमा ४४, बागमतीमा ४२, गण्डकीमा १२ र कोशीमा पाँच औलोका बिरामी रहेका छन् । देशभरमै औलोका बिरामीको सङ्ख्या चार सय ९१ रहेको छ । औलोको जोखिममा रहेको जनसङ्ख्या देशभरमा एक करोड एक लाख ४० हजार रहेको छ ।

नेपाल औलो रणनीतिक योजनाअन्तर्गत सन् २०२५ सम्म देशलाई औलो उन्मूलन गर्ने उद्देश्य राखिए पनि सुुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्नुमा खुला सीमा नाका जिम्मेवार रहेको छ । न्यून आयस्रोत भएका व्यक्तिहरू भारतमा मजदुरी गर्न जाने गर्दछन् ।

भारतबाटै औलोको सङ्क्रमण भएर फर्कने हँुदा बिरामीको सङ्ख्या अधिक देखिएको हो । आव २०७९÷०८० मा सुदूरपश्चिम प्रदेशमा आयातित बिरामीको सङ्ख्या एक सय ६५ रहेको छ भने स्थानीय बिरामीको सङ्ख्या १६ मात्रै रहेको छ । जोखिमयुक्त मानिने प्लाज्मोडिएम फाल्सिरम बिरामीको सङ्ख्या प्रदेशमा २० रहेको छ ।

औलो रोकथामका लागि ७३ हजार पाँच सय ३८ परिवारलाई विषादीयुक्त झुल वितरणको कार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले बताउनुभयो । उहाँका अनुसार गर्भवती तथा औलोको जोखिममा रहेका व्यक्तिलाई २१ हजार चार सय झुल वितरण गरिएको छ । सबैभन्दा बढी प्रदेशमा १५ वर्षमाथिका एक सय ६४ महिला पुरुषमा औलोको सङ्क्रमण देखिएको छ ।

“प्रदेशमा औलोबारे अनुसन्धान अध्ययन गर्न लामखुट्टे अनुसन्धान प्रयोगशाला स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “प्रयोगशाला स्थापना भएपछि औलो सार्ने लामखुट्टेको पहिचान गर्ने कार्यसँगै ग्रामीण क्षेत्रसम्म औलो जाँचको कार्य भइरहेको छ ।”

औलो रोग निवारणका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने कार्यसँगै अस्पताल, स्वास्थ्य चौकीको क्षमता विस्तारका लागि कार्य भइरहेको भए पनि त्यो पर्याप्त नभएको उहाँको भनाइ छ । “सीमित साधन स्रोतमै काम गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “साधन स्रोतमा वृद्धिसँगै कार्य अगाडि बढाइए औलो उन्मूलनको कार्यमा टेवा पु¥याउन सकिन्छ ।” पहिले हजारौँको सङ्ख्यामा औलोका बिरामी हुने गरेको उल्लेख गर्नुहुँदै उहाँले औलो निवारणका लागि कार्यक्रम आयोजना हुन थालेपछि औलोका रोगीको सङ्ख्या घट्दै गएको बताउनुभयो ।

“औलोलाई शून्यमा झार्ने हो भने जनचेतनाको कार्यलाई व्यापकरूपमा अगाडि लैजानुपर्छ”, कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभूली स्वास्थ्य चौकीका प्रमुख लिलाकान्त झाले भन्नुभयो, “औलोका बिरामीलाई उपचार गर्ने कार्यलाई सहज बनाउन प्रयोगशालालाई आधुनिक बनाइनुपर्छ ।” स्वास्थ्य संस्थामा गुणस्तरीय जाँच, उपचारको न्यायोचित पहुँचसँगै रोकथामका प्रभावकारी उपचाय अवलम्बन गरिए औलो निवारणमा टेवा पु¥याउन सकिने उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?