धान खरीदको व्यवस्थाले किसानलाई मूल्यमा राहत

धनगढी, नेपाल खाद्य संस्थानले किसानको धान खरीद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य तोकेर धान खरीद गर्न थालेका छन् ।

संस्थानले धान खरीदको व्यवस्था गरेसँगै किसानले धान बिक्री गर्दा मूल्यमा व्यापारीबाट हुने मोलमोलाइको समस्या हटेको किसानले बताएका छन् । संस्थानले मोटो धान प्रतिक्विन्टल रु दुई हजार ३३१ मा खरीद गर्न शुरु गरेपछि धान खरीदको कारोवार गर्ने व्यापारीले धान खरीद मूल्य बढाएर प्रतिक्विन्टल रु दुई हजार ४०० पु¥याएको स्थानीय किसानले बताएका छन् ।

संस्थानले धान खरीद गर्नुअघि व्यापारीले प्रतिक्विन्टल रु दुई हजार २०० देखि दुई हजार २५० मा धान खरीद गर्दै आएका थिए । संस्थानको सेती अञ्चल कार्यालय धनगढीले कैलाली जिल्लाको टीकापुर, सत्ती, भजनी, जोशीपुर, मुनुवा र मोहनपुरमा काँटा सञ्चालन गरी नयाँ धान खरीद शुरु गरेको हो ।

संस्थानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्न थालेको हो । संस्थानले तोकिएको मूल्यमा धान खरीदको व्यवस्था गर्दा मूल्य नियन्त्रण हुनाका साथै व्यापारीको धान खरीद मूल्यमा देखिने एकाधिकार हटेको किसान रामदिन रानाथारूले बताउनुभयो । “संस्थानले मूल्य तोकेर धान खरीदको व्यवस्था मिलाउँदा किसानले धानको उचित मूल्य पाउन थालेका छन्”, उहाँले भन्नुभयो, “संस्थानले मूल्य समयमै नतोक्ने गर्दा किसानले आफ्नो धान बेच्ने समयमा व्यापारीले गर्ने मोलमोलाइको मारमा पर्ने गर्दछन् ।”

सरकारले प्रतिक्विन्टल मोटो धान रु दुई हजार ३३१ र मध्यम धानको रु दुई हजार ४६० न्यूनतम समर्थन मूल्य तोकेको छ । कैलालीमा मध्यम र मसिनो धानको कारोवार नगण्यरूपमा मात्र हुने गरेको छ । घरायसी प्रयोजनका लागि मात्र किसानले मसिनो धान खेती गर्ने गरेका छन् । संस्थानले यस वर्ष ५० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य राखेको छ । गएको वर्ष संस्थानले करीब ४५ हजार क्विन्टल धान खरीद गरेको थियो ।

यस क्षेत्रको पहाडी जिल्लामा ५० हजार क्विन्टल बराबरको चामल खपत हुने गरेकामा संस्थानले सोही परिमाणमा धान खरीदको लक्ष्य राखेको संस्थानका जिन्सी फाँटका अधिकृत धर्मराज पन्तले बताउनुभयो । कैलाली जिल्लाका किसानको मुख्य आम्दानी स्रोत धान बाली रहेको छ । घर खर्चका साथै अन्य कामका लागि चाहिने नगदको जोहो धान बिक्री गरेर किसानले पूर्ति गर्ने गरेका छन् । कैलाली जिल्लामा ७२ हजार ५०० हेक्टर क्षेत्रफलको जग्गामा बर्खे धान बालीको खेती गर्ने गरिएकामा प्रतिहेक्टरमा तीन टन धान उत्पादन हुने गरेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?