गाउँ फर्किएर सफल किसान बनेका शम्भुप्रसाद

कागती खेती

टक्सार (भोजपुर):बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनःकृषि कर्मका लागि फर्किएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिन्छन् । विसं २०४७ मा विराटनगर बसाइँ गएका नेपालले गाउँमा नै केही गर्ने सोच बनाएर २०७० सालमा पुन भोजपुर फर्किएका थिएन ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका नेपाल अहिले कृषि कर्ममा लागि परेको बताउछन् । दानाबोटे फलफुल तथा कृषि फर्म दर्ता गराएर नेपालले अहिले कागती, ड्रागन फलको खेती गर्दै आएका छन् । ती खेतीबाट नेपालले वार्षिक लाखौंँ रुपैया आम्दानी पनि गरिरहेका छन् । किसान नेपाल आफू कागती खेतीको विस्तारमा जुटेको बताउछन्।

कागतीको बजार पनि राम्रो हुने भएकाले आफू कागती खेतीको विस्तारमा लागेको नेपालले बताए । उनले लगाएको एक बोट कागतीको बोटमा एक हजारसम्म कागती उत्पादन हुने गरेको छ । कागतीसहित किसान नेपालले ड्रागन खेतीसमेत गर्दै आएका छन् ।

उनले गरेको ड्रागन खेती देखेर अहिले भोजपुरमा यसतर्फ किसानको आर्कषणसमेत बढदै गएको छ । धान फलिरहेको खेतीयोग्य जमिन मासेर आफूले कागतीखेती थालेको नेपालको भनाइ रहेको छ । करिब ४३ रोपनी जग्गामा किसान नेपालले अहिले कृषि कर्म गर्दै  आइरहेका छन् । करिब हजार बोटले कागतीको फल समेत दिन थालिसकेका छन् ।

“बजारमा कागतीको माग राम्रो छ यसका लागि भोजपुरको हावापानी पनि राम्रो छ, कागतीको बिरुवाको समेत माग हुँदै आएकाले अबका दिनमा कागतीको बिरुवासमेत उत्पादन गर्ने मेरो योजना छ” सफल किसान नेपालले भने । उनले कागतीसँगै ड्रागन फलको बिक्रीबाट समेत राम्रो आम्दानी लिँदै आएका छन् । किसान नेपालले वार्षिक १५ लाख भन्दाबढी आम्दानी गरिरहेको अनुभाव सुनाए ।

बसाइँ गइसकेकाले गाउँमा फर्किएर पुनः व्यवसाय सुरु गर्दा धैरेले विश्वास नगरेको बताउने नेपालकै प्रेरणाले अहिले अरु किसान पनि पनि ड्रागन फलको खेतीतिर आकर्षित भएका रामप्रसाद राई गाउँपालिकाका घमचन्द्र दाहालले बताए । दाहालले भने, “यस्ता किसानलाई प्रोत्साहन गर्न सकिएमा नयाँ किसानलाई पनि हौसला मिल्छ, यसका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले पनि विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।”

लगाएको बालीसमेत बाँदरका कारण भित्र्याउन समस्या भइरहेको अवस्थामा अहिले किसानले त्यसको विकल्पका रुपमा टिमुर, कागती, ड्रागन जस्ता बाली लगाउन सुरु गरेका छन् । खालीखेतीयोग्य जग्गामा किसानले बाँदरले दुःख नदिने प्रजातीका फलफूल खेती गरेर मनग्गे आम्दानी लिन थालेका हुन ।

कागती र ड्रागन खेतीसँगै दूध सङ्कलन केन्द्रको विस्तार गर्ने अभियानमा पनि आफू लागेको किसान नेपालले बताए । जिल्लाका विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरी गाडीमार्फत् दूधलाई सहर पठाउने सोच रहेको नेपालले बताए ।

“गाउँगाउँका किसानले उत्पादन गर्ने दूध  सहर पठाउने सोच राखेको छु, यसका लागि टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा सङ्कलन केन्द्र राखेर यसबाट दैनिक सङ्कलन भएको दूध गाडीमार्फत सहर पठाउने योजना बनाएको छु”, नेपालले भने ।

किसान नेपालको प्रेरणाले युवा पुस्तामा पनि कृषि पेसातर्फ मोह बढेको र ड्रागन फलको खेती पनि विस्तार हुँदै गएको युवा व्यवसायी एक्सन राईको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?