दूध र पानीमा स्वच्छता कायम हुने गरी काम गर्न निर्देशन

काठमाडौँ :काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिनुभएको छ ।

खुला रूपमा बिक्री गरिने दूध र पानीको गुणस्तर नहुने भन्दै उहाँले कृषि तथा पशुपन्क्षी विभागका अधिकारीलाई नियमित अनुगमन गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । बजारबाट सङ्कलन गरिएका नमूना परीक्षणका लागि कामपाले आफ्नै प्रयोगशाला सञ्चालनको तयारी गरिरहेकाले प्रभावकारी नमूनाको परीक्षणका लागि निर्देशन दिइएको उपप्रमुख डङ्गोलले बताउनुभयो ।

कामपा कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले काठमाडौँमा बेचिने दूधको ७० प्रतिशत भार खुला बेचिने दूधले धानेकाले त्यसतर्फ निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

गत आइतबार कामपाले अखाद्य पेय पदार्थ बिक्री वितरण गरेको भन्दै पुतलीसडकमा रहेको कालिन्चोक ट्रेडिङलाई रू एक लाख ५० हजार जरिवाना तिराएको थियो । उपप्रमुख डङ्गोलले कामपाले पछिल्लो समय बजार अनुगमनलाई नियमित र व्यवस्थित गरिरहेको बताउनुभयो । उहाँका अनुसार महानगरले गत साउन २८ गते निर्णय गरेर पानीपुरी, चटपटे लगायत खुला रूपमा बेचिने खानेकुरा बेच्न प्रतिबन्ध लगाएको थियो ।

माछा, मासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थ, मासु पसल, दूध डेरी, तरकारी तथा फलफूलबाट चाँडो सङ्क्रमण फैलने भन्दै निगरानी बढाएको महानगरले जनाएको छ । कामपाले चालु आर्थिक वर्षमा अनुगमन लगायत स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमका लागि रू ९२ करोड ६६ लाख विनियोजन गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?