विद्यार्थीको फूलखेतीले जिल्ला आत्मनिर्भर बन्दै

कटारी (उयदपुर): उदयपुर कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । बर्सेनि तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले विद्यार्थीले जिल्लाको दुई स्थानमा सयपत्री फूलखेती गरेका हुन् । कृषि प्राविधिक धारतर्फका विद्यार्थीले कटारी तथा सदरमुकाम क्षेत्रका लागि विद्यालय परिसर र त्रियुगा नगरपालिकाको बोक्सेमा फूलखेती गरेका हुन् ।

कटारी क्षेत्रका लागि विद्यार्थीले विद्यालय परिसरको पाँच कठ्ठा जग्गामा सयपत्री लगाइएको विद्यार्थी राजु ठाकुरले बताए । उनका अनुसार कक्षा १२ को परीक्षापश्चात् गरिने प्रयोगात्मक परीक्षणका लागि फूलखेती गर्नुपर्ने भएपछि जिल्लाको दुई स्थानमा सयपत्री लगाइएको हो ।

विवश लामिछानेसहित १० विद्यार्थीको समूह बनाएर खेती गरिएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले बताए । “बोक्सेमा एक बिघा जग्गा लिजमा लिएर व्यावसायिक फूलखेती गरिरहेका छन्”, उनले भने “विद्यार्थीहरू व्यावसायिकरूपमा नै फूलखेतीमा लागेका हुन् ।”

प्रधानाध्यापक कार्कीका अनुसार यसपटक कटारी र गाईघाट गरी दुई स्थानमा भइरहेको फूलखेतीमा विद्यालयले तीन लाख लगानी गरेको छ । विद्यार्थीले व्यावसायिक फूलखेती गरेको यो तेस्रो वर्ष हो । “गत वर्ष भएको नाफाका कारण विद्यार्थीले खेती बढाएका छन्”, उनले भने, “बजारमा सबै उत्पादन लैजान सकिन्छ कि सकिँदैन भन्ने चाहिँ चिन्ताको विषय हो ।”

“गत वर्ष कटारीको फूल अभाव विद्यार्थीबाटै अन्त्य भयो”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले भने, “यस वर्ष जिल्लालाई नै सयपत्रीमा आत्मनिर्भर बनाउन सदरमुकाममा फूल उत्पादन भइरहेको छ ।” सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले फूलखेतीका साथै व्यावसायिक च्याउखेती पनि गरिरहेको उनले जानकारी दिए ।

यसअघि जिल्लामा सयपत्री अभावका कारण तिहारमा कागज, प्लाष्टिकको माला लगाउनुपर्ने बाध्यता भएपछि विद्यार्थीले फूलखेती सुरु गरेको विद्यार्थी विनोद कार्कीले बताए । यसअघि थोरै खेती गर्दा तिहारमा मात्रै एक लाख हाराहारीमा नाफा कमाएका उनको बताए । उनका अनुसार यस वर्ष खेतीको क्षेत्रफल बढाएकाले आम्दानी पनि बढ्ने अनुमान गरिएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments