झिनियाँ बेचेर मनग्य आम्दानी

गलकोट :तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् ।

तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका छन् ।

बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बागलुङमा तिहार नजिकिएसँगै झिनियाँ, चिनि, फिनी, भेलीलगायतका रोटीका परिकारको बनाउन व्यस्त भएको १० वर्षदेखि बागलुङ नगरपालिका–१ रामरेखामा झिनियाँ उत्पादन गर्दै आउनुभएको शर्मिला श्रेष्ठले बताउनुभयो । “तिहार नजिकिँदै आएसँगै झिनियाँको कारोबार उच्च छ अहिले म जस्ता दर्जनौँ महिला झिनियाँसहितका रोटीका परिकार निर्माण गरेर बिक्री गरेर मनग्य आम्दानी गरेका छन्”, श्रेष्ठले भन्नुभयो, “तिहारमा मात्रै चार÷पाँच लाखको झिनियाँ सहित अन्य तयारी रोटीको कारोबार हुन्छ ।”

यस्तै १२ वर्षदेखि बागलुङ नगरपालिका–१ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका रोटीका परिकार बनाउँदै आउनुभएका मिरा श्रेष्ठले झिनियाँसहित अन्य रोटीका परिकारकोसमेत बिक्री भइरहेको बताउनुभयो । उहाँले यस पटक सेतो झिनियाँको उत्पादन बढाएको जानकारी दिनुभयो ।

हिन्दुहरूको दोस्रो ठुलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ मात्रै छैन सिजनको व्यापारमा कमाएको रकमले वर्षभरी घरखर्च पुग्ने उद्यमीहरूको भनाइ छ ।

श्रेष्ठले विगत १२ वर्षदेखि झिनियाँ, चिनी रोटी, फिनी रोटी, सेल रोटी, भेली रोटी, खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

“तिहारमा झिनियाँको व्यापार बढी हुन्छ, तिहार नआउँदै बाटर झिनियाँ बनाउँदै सुकाउन निकै व्यस्त भइन्छ, पहिला जस्तो झिनियाँमा नाफा त छैन, चामलको मूल्य बढेपछि नाफा थोरै भएको हो”, श्रेष्ठले भन्नुभयो, “पछिल्लो समय झिनियाँसँगै चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ, यस पटक पानी नपरेकाले झिनियाँ सुकाउन समस्या भएन, झिनियाँको माग अनुसार निर्माण गर्न समस्या छ ।”

मीरासँगै उनका श्रीमान् र छोराले दसैँअघिदेखि रातदिन नभनेर झिनियाँ, चिनी, फिनी, भेली र नमकिनलगायतका तयारी परिकारहरु बनाइराखेका छन् । तिहारका समयमा बढीमात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । तर बागलुङ बजारको अधिकांश झिनियाँ र तयारी रोटीको माग महिला उद्यमीहरुले धान्दै आएका छन् ।

मिरा श्रेष्ठले मात्रै तिहारको सिजनमा झिनियासहित अन्य तयारी परिकार बिक्रीबाट रु सात लाख आम्दानी गर्ने लक्ष्यसहित झिनियाँ बनाउन व्यस्त हुनुहुन्छ । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमासमेत झिनियाँसहित अन्य सात प्रकारका तयारी रोटीको माग भएको हो । रङ्ग मिसाइएको झिनियाँरोटी उत्पादन नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेपछि यस पटक धेरै महिला उद्यमीले सेतो झिनियाँ उत्पादन बढाएका छन् ।

रङ्ग मिसाइएको झिनियाँका कारण घातक रोग लाग्नसक्ने भन्दै सप्तरङ्गी झिनियाँ उत्पादन नगर्न बागलुङ नगरपालिकालेसमेत अनुरोध गरेको छ । तर उपभोक्ताले भने रङ्ग मिसिएकै झिनियाँ बढी माग गर्ने उद्यमीको भनाइ छ । उद्यमीले खाद्य रङ्ग मिसाए पनि तेलमा तार्दा रङले स्वास्थ्यमा असर गर्ने भन्दै सादा झिनियाँ उत्पादन गर्न आग्रह गरिएको छ ।

बागलुङमा थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा दुई सय ५० र सानोमा एक सय ४० मा बिक्री हुँदै आएको छ । खुद्रा र होलसेल गरी दुईथरी मूल्य कायम गरेर झिनियाँ बिक्री भइरहेको छ । यतै चिनी रोटी रु ८०, फिनी रोटी ७०, भेली रोटीलाई ५० र नमकिन रोटीलाई ५० मा बिक्री भइरहेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?