उखुको न्यूनतम मूल्य निर्धारण
काठमाडौँ, सरकारले उखुको न्यूनतम मूल्य निर्धारण गरेको छ । उखु किसानले अब अनुदान रकमसमेत गरी प्रतिक्विन्टल ५३६ रुपियाँ ५६ पैसा पाउने भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखु उत्पादक कृषकले सीधै भुक्तानी पाउने गरी उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ बमोजिम ६५ रुपियाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपक्षी मन्त्रालयलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
सरकारले गरेको निर्णयअनुसार चिनी उद्योगीले उखु किसानलाई ४७१ रुपियाँ २८ पैसा नघटाई दिनुपर्ने हुन्छ । सरकारले तोकेको यो मूल्यलाई चिनी उद्योगीले स्वीकार नगर्ने भनेका छन् ।
आफूहरूसँग सल्लाह नगरी यो मूल्य तोकिएको छ, यसलाई स्वीकार गर्न सकिँदैन, रिलायन्स सुगर मिल, बाराका प्रमुख राजकुमार अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो, यो मूल्यले कारखाना र उखु किसान दुवै मर्छन् । यो रेटमा हामीले उखु खरिद ग¥यौँ भने चिनी ९० रुपियाँ प्रतिकेजी बेच्नुपर्छ ।
उखुको मूल्य नतोकिँदा किसान आन्दोलित थिए । मूल्य नतोकिँदा उखु पेल्न पनि समस्या उत्पन्न भएको थियो ।
उखु लगाउनुपूर्व मूल्य तोकिनु पर्नेमा उखु काटिसक्दा पनि मूल्य निर्धारण नहुँदा उद्योगी र किसानबीच किचलो शुरु भएको थियो । किसानले लागत मूल्यको आधारमा उखुको मूल्य माग्ने तर चिनी उद्योगले किसानको लागत मूल्य पनि उपलब्ध गराउन नमान्दा विवाद उत्पन्न भएको थियो । उखुको मूल्य लिएर बर्सेनि किसान र उद्योगीबीच किचलो हुने गरेको छ ।
बुधबार सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले चिनीको मूल्य बढाउने र उपभोक्तालाई मारमा पार्ने काम उद्योगीले गरिरहेको बताउनुभएको थियो । चिनीको मूल्य जथाभावी बढाउने अनि त्यसो नगर्न भन्दा चिनी उद्योगीले चिनी उद्योग बन्द गराएको मन्त्री यादवको आरोप थियो । चिनी उद्योगीले चिनीको व्यापार घाटामा गएको भन्दै पूर्वका केही चिनी उद्योग बन्द गराएका छन् ।
नेपाल चिनी उद्योग महासङ्घका अध्यक्ष शशिकान्त अग्रवालले अत्यधिक घाटामा गएकाले चिनी उद्योग सञ्चालन गर्न सकिने अवस्था रहेको दाबी समितिको बैठकमा गर्नुभएको थियो । चिनीको यथार्थपरक मूल्य नतोक्ने हो भने उखु कृषकको वक्यौता रकम तिर्न नसक्ने पनि उहाँले दाबी गर्नुभएको थियो ।
सरकारले प्रतिकेजी चिनीको मूल्य ५५ रुपियाँ तोकिदिएको छ । अध्यक्ष अग्रवालले सोही मूल्यमा चिनी बिक्री गर्दा आफू मारमा परेको पनि दाबी गर्नुभएको थियो । उहाँले प्रतिकेजी चिनीको उत्पादन लागत नै ५५ रुपियाँभन्दा बढी पर्ने भन्दै तत्काल चिनीको मूल्य यथार्थपरक बनाउन माग गर्नुभएको थियो ।गोरखापत्र