खेतीपाती नै नगर्नेलाई कृषि अध्ययनमा अवसर

गहु

धनी बाबुका छोराछोरी कृषि पढ्दै अमेरिका जाँदै
चितवन :पुस ३ गते खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा युवा कृषकलाई दिइएको आवासीय तालिमको उद्घाटन गर्दै कृषिमन्त्री चक्रपाणि खनालले भने ‘माटोसँग खेल्ने युवा देशमा चाहिएको छ ।’

माटोसँग खेल्ने युवा जनशक्ति देशभित्र नै आवश्यक रहेको मन्त्री खनालको कथन छ । तर के, नेपालका विश्वविद्यालयहरुले त्यो अनुरुपको शिक्षा दिएर माटो टेक्ने जनशक्ति तयार गर्न सकेका छन् त ?

कृषि शिक्षा लिएर पढोका विद्यार्थीहरु व्यवसायी बन्ने प्रतिशत अति नै न्यून छ । यसको मूल समस्या के हो भने कृषि कर्म गर्न नचाहने शहरिया धनी बाबुका छोराछोरीहरुले नै स्नातक तहको बीएससी-एजी अध्ययनको अवसर पाउँछन्, जो खेतबारीमा कहिल्यै पस्दैनन् ।

राज्यको लगानीमा कृषि शिक्षा अध्यापन थालेको चार दशकभन्दा बढी समय बित्यो । तर, पनि कृषि उत्पादन व्यवसायिक हुन सकेन । शिक्षा लिनेहरू सर्टिफिकेट बोकेर कि त सरकारी जागिरे बने, कि विदेशतिर उडे । कृषि शिक्षा उत्पादनसँग जोडिन सकेन ।

विद्यार्थीहरूले शिक्षा लिएर कृषकलाई सिकाउलान् भन्ने अवस्था छैन ।

लक्ष्य अमेरिका
कृषि तथा वनविज्ञान विश्वविद्यालय

नेपालमा कृषि शिक्षा लिएका अधिकांश विदेश हानिएका छन् । नेपालमा कृषि शिक्षा लिएका अधिकांश विदेश जाने गरेको पाइन्छ । विदेशमा छात्रवृत्ति पाइने र धेरै कमाउन सकिने आशमा धेरैले कृषि शिक्षा लिने गरेको जानकारहरूको भनाइ छ । तर, नेपालमै भने कृषि क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ । कृषि पढेर कृषि उद्यमी बन्ने लक्ष्य भएका विद्यार्थीको संख्या कम छ ।

कृषि शिक्षा पढेका धेरैले सजिलै अमेरीका जान पाउने भएकाले यसमा आकर्षण बढेको कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्रा.डा. श्रवणकुमार शाह बताउँछन् ।

‘निजी विद्यालय पढेका धनी बाउका छोराछोरी कृषि पढ्न आएका होइनन्, अमेरीका जाने भनेर पढ्न आएका हुन्, विदेशमा पढ्न जानेलाई राज्यले लगानी गरिरहेको छ,’ शाह भन्छन्, ‘विदेशमा कृषि पढेकाहरू फिल्डमा गएर आफैं काम गर्ने गरेका छन् । ट्याक्टर चलाउँछन्, किसान नै भएर काम गर्छन् तर नेपाली विद्यार्थी भने आफ्नै देशमा काम गर्न लाज मान्छन् ।’

पढेलेखेका मानिसले खेती किसानी गर्नु हुँदैन भन्ने परम्परागत सोच अझै परिवर्तन हुन नसक्दा यस्तो अवस्था आएको विज्ञ बताउँछन् । जागिरे मानसिकताले अझै नेपालीलाई उद्यमशील कृषक बनाउन रोकेको छ ।

बीएससी-एजी पढेपछि छात्रवृत्तिमा विदेशमा माथिल्लो तह अध्ययनको अवसर पाइने सम्भावना र प्राविधिक विषय पनि पढ्नुपर्छ भन्ने धारणाको विकासले पनि यसमा विद्यार्थीको आकर्षण बढेको छ । यो विषय पढेका विद्यार्थी बेरोजगार छैनन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालका अनुसार प्रवेश परीक्षामा नाम निकाल्नेहरु कृषिसँग कम साइनो भएका विद्यार्थी बढी छन् । मेरीट प्रवेश परीक्षा प्रणालीमै सुधारको खाँचो औंल्याइएको छ

सरकारदेखि, उद्योग, एनजीओ, आईएनजीओ, ट्रेड स्कुलदेखि धेरै क्षेत्रमा काम पाइरहेका छन् । यो विषय अध्ययन गर्नेहरूलाई रोजगारीको समेत ग्यारेन्टी छ । विदेशमा छात्रवृत्ति पाइने र धेरै कमाउन सकिने आशमा धेरैले कृषि शिक्षा पढ्ने गरेका छन् ।

सरकारको लगानी खेर

कृषि शिक्षा सस्तोमा दिलाउन सरकारले लगानीसमेत गरेको छ । ‘एक जिल्लामा कम्तीमा एउटा कृषि क्याम्पस’ सञ्चालनको नीति सरकारको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा विएससी एजी पढ्ने विद्यार्थीले चार वर्षे कोर्षको जम्मा करिब दुई लाख रुपैयाँ तिर्ने गर्दछन् । अझै छात्रवृत्तिमा पढ्ने विद्यार्थीले जम्मा ३१ हजार रुपैयाँ तिरे पुग्छ ।

पाँच बर्षे भेटेनरी पढ्ने विद्यार्थीले पाँच वर्षको करिब चार लाख रकम मात्रै तिर्ने गरेका छन् । छात्रवृत्ति पाउनेले सेमेष्टरको जम्मा छ हजार तिर्ने गरेका छन् । जबकी यही कोर्ष निजी कलेजमा पढ्दा उसको क्याम्पसमा मात्रै बुझाउने खर्च १२ लाखको हाराहारीमा हुने जानकारहरु बताउँछन् ।

फेरि विश्वविद्यालयबाट विभिन्न शीर्षकमा विद्यार्थीहरुले रकमसमेत लिइरहेका हुन्छन् । विश्वविद्यालयमा प्रदान गरिने सुविधाहरुको हिसाव मिलाउँदा विद्यार्थीहरुले लगभग विना खर्च नै कृषि र भेटेनरी शिक्षा लिने गरेका छन् ।

तर, पढिसकेपछि विद्यार्थीहरुको पहिलो रोजाई विदेश नै हुन्छ । विश्वविद्यालयका प्रा.डा. श्रवणकुमार शाह बिदेश जाने विद्यार्थीहरुको ‘नो अब्जेसक्न लेटर’ बनाइदिँदा बनाइदिँदा हैरान नै परिने बताउँछन् । ‘सरकारले चार-पाँच वर्षसम्म लगानी गरेका विद्यार्थी धमाधम विदेश गएका छन्,’ उनी भन्छन्, ‘राज्यको लगानी वालुवामा पानी भएको छ ।’पशु विज्ञान, पशु चिकित्सा तथा मस्त्य विज्ञान संकाय रामपुरकी डीन प्रा.डा. शारदा थपलियाले भेटेनरी पढ्ने विद्यार्थीहरुले पाँच वर्ष पढ्दा उनीहरुले पढ्नका लागि विश्वविद्यालयमा तिरेकोभन्दा बढी रकम विभिन्न शीर्षकमा लैजाने गरेको बताइन् ।

कहिल्यै पनि खेतबारीमा नटेक्ने परिवारका सदस्य जो निजी तथा आवासीय (बोर्डिङ) स्कुल पढेका छन् उनीहरूले नै कृषि अध्ययनको मौका पाउँदै आएका छन् ।
www.onlinekhabar.com
सुवास पण्डित

Leave a Reply

Your email address will not be published.