लामो समयपछिको वर्षाले खुसी किसान

मङ्गलवारे (इलाम):

लामो समयपछि वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका छन् ।

किसान मात्रिका खतिवडाले पानी परेपछि मर्क छर्नका लागि सहज भएको बताए । ‘चिया पलाउने समयमा पानी परेकाले राम्रो भएको छ भने अन्य बालीको उब्जनी पनि अब बढ्नेछ’, उनले भने, ‘लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न समस्या भएको थियो ।’

इलाम सदरमुकामसहित जिल्लाका विभिन्न भागमा रातिदेखि नै पानी परिरहेको उनको भनाइ छ । ‘पानी नपर्दा अलैँची सुक्न थालेको थियो । मकै छर्न सिँचाइ गर्नुपर्ने अवस्था थियो । तर पानी परेपछि सबै किसानलाई सहज भएको छ’, उनले भने ।

बालीलाई फाइदाः विज्ञ

बालीविद् डा डिल्लीराम शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ भने पहाडि तथा तराई क्षेत्रमा गहुँ मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको छ ।

‘लामो समयसम्म पानी नपर्दा सुक्खा बढेको थियो । जसले गर्दा आलु, गहुँ, तोरीलगातका बाली उत्पादनमा ह्रास आउनसक्ने खतरा थियो । तर हालको वर्षाले खेतीपातीका लागि राम्रो भएको छ’, उनले भने, ‘कुनै स्थानमा मकै छरिएको छ त कतै छर्ने तयारी भइरहेकाले पानीले राम्रो गरेको छ ।

आजदेखि परेको पानी उपत्यकामा आजसम्म र कोशी तथा मधेस प्रदेशमा शुक्रबारसम्म पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाको भनाइ छ ।

‘नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ’, उनले भने, ‘हाल देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा तथा कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?