इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

फिक्कल (इलाम):इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गर्नुभएको छ । उहाँको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उहाँले रासससँग भन्नुभयो, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो रु ५० का दरले बिक्ने गरेको छ ।”

घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने बताउँदै उहाँले नयाँ बोट थप गरी खेती विस्तार गर्ने योजनामा आफू रहेको सुनाउनुभयो । “यस वर्ष सुपारी बेचेरे रु तीन लाख आम्दानी भयो, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपु¥याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ”, उहाँले भन्नुभयो, “बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न हुन्छ, यसलाई अझ विस्तार गर्ने योजनामा छु ।”

अर्का किसान कृष्ण लिम्बूले पनि अन्न फल्ने जग्गामा पाँच सय बोट सुपारी रोप्नुभएको छ । करिब १० रोपनी जग्गामा उहाँले पाँच सय बोट सुपारी रोप्नुभएको हो । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले सुपारी खेती सुरु गरेको उहाँले बताउनुभयो ।

“अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले सुपारी सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “बिक्रीको चिन्ता छैन, व्यापारी घरमा नै आउँछन्, प्रतिकिलो रु ३० देखि रु ५० सम्ममा बगानबाटै बिक्री हुने गर्दछ ।” उहाँले यस वर्ष सुपारी खेतीबाट रु एक लाख आम्दानी गरेको सुनाउनुभयो ।

छिमेकीले सुपारी खेतीबाट मनग्ये आम्दानी गरेपछि अर्का किसान चक्र येक्तेनले पनि व्यावसायिक सुपारी खेती सुरु गर्नुभएको छ । ‘माम्मा फिपरानी स्मृति कृषि तथा पशुपालन फार्म’ दर्ता गरी करिब १५ रोपनी जमिनमा सुपारी खेती गर्नुभएको छ । उहाँले एक हजार सुपारीका बोट लगाउनुभएको छ । “मैले १५ रोपनी जग्गामा एक हजार बोट सुपारी रोपेको छु, बिरुवा हुर्कंदै छन्”, उहाँले भन्नुभयो, “नयाँ बगान भएकाले फल भने लागको छैन ।”

यहाँका करिब ७० घर किसानले व्यावसायिक रुपमा सुपारी खेती गर्दै आएका छन् । कम मेहनत र थोरै लगानीमा नै मनग्ये आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसान व्यावसायिक सुपारी खेतीमा आकर्षित भएका छन् । बाँझो जग्गा सदुपयोग गर्दै किसानले व्यावसायिक रुपमा सुपारी खेती सुरु गरेका हुन् । उनीहरुले खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न थालेका हुन् । सुपारीले अन्य बाली लगाउन असर नर्गने भएकाले यसप्रति किसानको आकर्षण बढेको हो । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय तीर्थ साउदेनले बताउनुभयो ।

इलाममा सुपारीको खेती विस्तार आएको छ । यस वर्ष इलाममा छ सय १० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिनुभयो । इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताउनुभयो ।

जिल्लाको माई नगरपालिकाका बोरुङ, चिसापानी, दानाबारी, महमाई, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?