कालीमाटीमा आजको तरकारी तथा फलफूलको भाउ: नेपालीभन्दा भारतीय मेवा झन्डै दोब्बर महँगो ,गोलभेडा र प्याजको मूल्य स्थिर
काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। सार्वजनिक सूची अनुसार, अधिकांश तरकारीको मूल्य स्थिर रहे पनि हरियो सागपात र केही फलफूलको मूल्य भने बढेको देखिएको छ।
समितिका अनुसार, आज नेपाली ठूलो गोलभेडाको थोक मूल्य प्रतिकेजी न्यूनतम रू ६५ देखि अधिकतम रू ७५ सम्म कायम भएको छ भने सानो लोकल गोलभेडा प्रतिकेजी रू २८ देखि ३५ मा कारोबार भइरहेको छ। यस्तैगरी, सुकेको भारतीय प्याजको मूल्य प्रतिकेजी रू ४४ देखि ४६ रुपैयाँ तोकिएको छ। रातो आलुको मूल्य प्रतिकेजी रू ४३ देखि ४५ सम्म रहेको छ भने भारतीय आलु रू ३६ देखि ३८ मा बिक्री भइरहेको छ।
यसैगरी, अन्य हरियो तरकारीतर्फ स्थानीय काउलीको मूल्य प्रतिकेजी रू ६० देखि ७० छ भने तराईको काउली रू ४० देखि ५५ मा उपलब्ध छ। मटरकोशा रू १८० देखि रू २००,बन्दा प्रतिकेजी रू २५ देखि ३५ मा कारोबार हुँदा लौका, तितो करेला, र बोडी जस्ता तरकारीहरू रू ३० देखि ४५ को हाराहारीमा छन्। सूचीमा सबैभन्दा सस्तो तरकारीमा सेतो मूला देखिएको छ, जसको मूल्य प्रतिकेजी रू १५ देखि २५ मात्रै छ।
हरियो सागपातको मूल्य भने आकासिएको छ। सार्वजनिक सूची अनुसार, पालूगो साग प्रतिकेजी रू १४० देखि १६०, रायो साग रू ९० देखि ११० र हरियो प्याज रू १९० देखि २१० सम्ममा कारोबार भइरहेको छ। यस्तै, च्याउ, कुरिलो, र पार्सले जस्ता विशेष उपजको मूल्य पनि उच्च रहेको छ। डल्ले च्याउ प्रतिकेजी रू ३४० देखि ३८० ,कुरीलो रू २०० देखि रू २५० र पार्सले प्रतिकेजी रू ८०० देखि १००० जस्तो उच्च मूल्यमा बिक्री भइरहेको छ।
फलफूलतर्फ, केरा प्रतिदर्जन रू १३५ देखि १४५, नेपाली मेवा रू ५० देखि रू ६०, भारतीय मेवा रू ८५ देखि रू १००,फूजी स्याउ रू २८० देखि ३४०, अनार रू ३०० देखि ३५० र आँप (मालदह/दसहरी) रू ८० देखि १०० प्रतिकेजीमा कारोबार भइरहेको छ।
दैनिक मसला बालीमा हरियो खुर्सानी प्रतिकेजी रू २५ देखि ३०, अकबरे खुर्सानी रू २०० देखि २५० र नेपाली सुकेको लसुन रू १४० देखि १७० मा किनबेच भइरहेको छ। यस्तै, ताजा माछामा रहु माछाको मूल्य प्रतिकेजी रू ३१० देखि ३३० रहेको समितिले जनाएको छ।
