देशभर मनसुन सक्रिय: आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ :जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै हाराहारीमा रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना बढेको हो।
महाशाखाले आज दिउँसो र राति देशका अधिकांश भू-भागमा बदली रही मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान गरिएको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागमा भने हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली कायम रहनेछ। पहाडी भू-भागका केही स्थानहरूमा र देशका अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी किनार तथा होचा भू-भागमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै, वर्षाका कारण सडक तथा हवाई यातायातमा समेत सामान्य अवरोध आउन सक्नेतर्फ सचेत रहन भनिएको छ।
