माटोको सपना, बालुवाको यथार्थ
गाउँको सिरानमा, हरियालीको घुम्टो ओढेर बसेको थियो रामको ४० रोपनी जिन्दगी। त्यो जमिन उसका लागि केवल जमिन थिएन, पुर्खाको नासो थियो, बाबुको पसिनाको गन्ध थियो र उसको आफ्नै भविष्यको सपना थियो। हरेक मौसममा त्यो माटोले उसको परिवारको पेट भर्थ्यो। धानका बाला झुल्दा उसको मन झुल्थ्यो, गहुँका बोटहरु हावामा लहराउँदा उसको सपना लहराउँथ्यो। तर, सबै कुरा परम्परागत थियो – हलगोरुको घण्टी, कुटो-कोदालोको संघर्ष र आकाश हेरेर गर्नुपर्ने खेतीको भरोसा। आम्दानीले जेनतेन घर त चलेको थियो, तर बचतको नाममा हातमा केवल माटोका डल्ला र पसिनाका थोपाहरु मात्रै थिए।
गाउँ रित्तिँदै थियो। उसका दौँतरीहरु कोही खाडीको तातो बालुवामा भविष्य खोज्न गए, कोही शहरको भीडमा हराए। एक्लोपन र स्थिर जिन्दगीले उसलाई घोच्न थाल्यो। उसले पनि सोच्यो, “अब म पनि आधुनिक किसान बन्छु। यही माटोमा सुन फलाउँछु।”
विदेशमा रहेको साथी श्यामले भर्चुअल संसारबाटै आशाको त्यान्द्रो देखायो, “सरकारले कृषिमा अर्बौं अनुदान दिन्छ, राम्ररी बुझ, तैँले पनि पाउँछस्।” यो सुनेर रामको मनमा आशाको दियो बल्यो। ऊ सदरमुकामका सरकारी कार्यालयहरु धायो, फाटेका चप्पल र मैलो दौरा-सुरुवालमा ऊ हरेक ढोका चहार्न पुग्यो। तर, हरेक पटक उसले पाएको जवाफ उस्तै थियो – ‘हाकिमसाब हुनुहुन्न’, ‘भोलि आउनुस्’, र अन्त्यमा, ‘त्यो त बजेट सकियो, अब अर्को साल।’ उसको आशाको दियो निभ्न लाग्यो।
निराश भएको रामलाई शहरमा बस्ने अर्को साथी हरिले फोनमा भन्यो, “किन अनुदानको पछि लाग्छस्? तेरो नाममा त्यत्रो सम्पत्ति छ। बैंकमा जा, जग्गा धितो राखेर ऋण माग, सजिलै पाउँछस्।”
यो सल्लाहले उसको निभ्न लागेको आशामा घिउ थपिदियो। उसको मनमा कल्पनाको बाढी आयो – खेतमा ट्याक्टर चलेको, थोपा सिँचाइले बाली हरियो भएको, छोराछोरी शहरको महँगो स्कुलमा पढेको। यही सपनाको भारी बोकेर ऊ बजारको चम्किलो, सिसाले बनेको बैंकको गेटमा पुग्यो।
उसको साधारण पहिरन र हिलो लागेको चप्पललाई गेटमा बसेको सुरक्षा गार्डको आँखाले यसरी नाप्यो, मानौं ऊ कुनै अर्कै ग्रहबाट आएको हो। तैपनि, हिम्मत गरेर ऊ भित्र छिर्यो। बैंकभित्रको चिसो एसी, कम्प्युटरको किटिकिटि आवाज र सफा भुइँमा ऊ आफूलाई नितान्त बिरानो र सानो महसुस गर्न थाल्यो। ऊ आत्तिँदै थियो, कसलाई सोध्ने, के भन्ने?
एकजना कर्मचारीलाई सोध्यो, “सर, ऋण लिन कहाँ जानुपर्छ?”
ती कर्मचारीले हाँसोको फोहोरा छुटाउँदै औंलाले एउटा क्याबिनतिर देखाए।
ऊ भित्र पस्यो र डरले कामेको स्वरमा भन्यो, “नमस्कार सर!”
मोबाइलको स्क्रिनमा दुनियाँ भुलेर बसेका ती ‘सर’ले नहेरीकनै रुखो स्वरमा सोधे, “के काम?”
“म किसान हुँ। गाउँमा ४० रोपनी खेत छ। आधुनिक खेती गर्न ऋण चाहिएको थियो।” उसले एक सासमा आफ्नो कथा सुनायो।
त्यो ‘सर’लाई उसको कथामा कुनै चासो थिएन। उसले सोध्यो, “खेतसम्म पुग्ने बाटो कति मिटरको छ? गाडी पुग्छ? बैंकले बजारबाट ४-५ किलोमिटर भन्दा पर ऋण दिँदैन। तपाईंको मिल्दैन।” यति भनेर उसले रामलाई त्यहाँबाट जतिसक्दो चाँडो पन्छाउन खोज्यो।
रामको सपनाको महल त्यहीँ भत्कियो। उसको गला अवरुद्ध भयो, शब्दहरु हराए। ऊ केही नबोली लरखराउँदै बाहिरियो। उसलाई लाग्यो, “यी ठूला घरहरु र चिल्ला गाडी भएका मान्छेका लागि मात्र रहेछन् बैंक। हामी माटोसँग खेल्ने किसानका लागि होइन।”
ऊ घर फर्कियो, तर उसको शिर निहुरिएको थियो। गाउँलेले गिज्याउन थाले, “खै त राम, कति ल्यायौ त ऋण?” छिमेकीहरुले कुरा काट्न थाले, “हेर त, हरिले शहरमा घर ठड्याइसक्यो। श्यामले विदेशबाट लाखौं पठाउँछ। योचाहिँ यही माटोमाटो भनेर बस्यो, केही लछारपाटो लागेन।” यी शब्दहरु हरेक दिन उसको मुटुमा भालाझैँ रोपिन थाले।
किसान राम अब ‘जड्या रामे’ बन्यो। जुन हातले कुटो-कोदालो समाउँथ्यो, अब त्यही हातले रक्सीको बोतल समाउन थाल्यो। उसको पीडा र निराशा रक्सीको नशामा डुब्न थाल्यो।
अन्त्यमा, परिवारले नै हार खायो। उनीहरुले पासपोर्ट बनाए, दलाल खोजे। जुन समाज र बैंकले उसको पसिना र ४० रोपनी जमिनमाथि ५ लाख पत्याएन, त्यही समाजले उसलाई खाडीमा पसिना बेच्न जान ७ लाखको ऋण सजिलै पत्यायो।
भोलि बिहान राम देश छोड्दैछ। आज राति, अन्तिम पटक ऊ आफ्नो खेतको डिलमा उभिएको छ। जूनको उज्यालोमा टल्किरहेको आफ्नो जमिनलाई हेरेर उसका आँखा रसाएका छन्। उसले त्यो माटोलाई ढोग्यो, जुन माटोमा ऊ सुन फलाउन चाहन्थ्यो। अब त्यही माटो छोडेर ऊ बालुवामा आफ्नो जवानी बेच्न जाँदैछ।
देशले एउटा किसान गुमाउँदैछ र खाडीले एउटा सस्तो मजदुर पाउँदैछ। उसको ४० रोपनी खेत अब बाँझै रुनेछ, र खाडीको तातो बालुवामा रामको पसिना बग्नेछ। उसलाई देश छोड्न समाजले, व्यवस्थाले र समयले नै बाध्य बनायो।
