देशभर मनसुन सक्रिय: कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

चट्याङ

काठमाडौं, श्रावण ०६ :

आज मंगलबार देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ, जसका कारण अधिकांश भू-भागमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले मनसुनी गतिविधि बढिरहेको हो। यसैको प्रभावले आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै देशका अन्य पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो क्रम आज राति पनि जारी रहनेछ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। यी प्रदेशहरूका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा भू-क्षयको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। साथै, वर्षाका कारण यातायात तथा दैनिक जनजीवनमा पर्न सक्ने सम्भावित असरबारे सचेत रहन पनि अनुरोध गरिएको छ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?