गाउँको कोसेली, माया र पहिचानको पोको

शहरको व्यस्त जीवनमा जब कुनै बस वा गाडीबाट चामलको बोरा, प्लास्टिकको झोला वा टिनको बट्टामा पोको पारिएको कुनै सामान आइपुग्छ, त्यो केवल सामान मात्र हुँदैन। त्यो गाउँबाट पठाइएको माया, सम्झना र आफ्नोपनको न्यानो कोसेली हुन्छ। गाउँघरमा पाइने रैथाने उत्पादन शहरमा बस्ने आफन्तलाई पठाउने यो परम्परा नेपाली समाजको आत्मीयता र सम्बन्धको एक सुन्दर उदाहरण हो।

यो कोसेलीको पोकोभित्र के हुन्छ ? त्यहाँ बुबा-आमाको हातले बनाएको घिउको बास्ना हुन्छ, बारीमा फलेको मकै वा कोदोको पिठोको पौष्टिकता हुन्छ, र गुन्द्रुक, गाभा, सिन्की, निगुरो,लोकल केरा, सिप्ली अनि तामाको अमिलो स्वाद हुन्छ। सिजनअनुसार कहिले लटरम्म फलेका आँप र लिची हुन्छन् त कहिले घरमै बनाएको अचार र टिमुरको धुलो। यी वस्तुहरू बजारमा किनेर पाइने चिल्ला र आकर्षक प्याकेटका सामानजस्ता होइनन्। यिनमा गाउँको माटोको सुगन्ध, अग्र्यानिक स्वाद र पठाउने मान्छेको निस्वार्थ स्नेह मिसिएको हुन्छ।

शहरमा बस्ने छोराछोरी वा आफन्तले गाउँको त्यो स्वाद नबिर्सिउन्, आफ्नो जरा नभुलोस् भन्ने चाहना यस परम्परामा लुकेको हुन्छ। पैसा तिरेर किन्न सकिने हजारौँ परिकारभन्दा गाउँबाट आएको एक माना सिमी वा एक बोतल महले दिने सन्तुष्टि निकै गहिरो हुन्छ। यसले केवल पेट मात्र भर्दैन, मनलाई पनि तृप्त बनाउँछ र बाल्यकालका मिठा यादहरू ताजा गराइदिन्छ।

आधुनिकतासँगै यो परम्परा केही हदसम्म कम हुँदै गए पनि यसको महत्व कहिल्यै घटेको छैन। वास्तवमा, गाउँ र शहरबीचको भौतिक दूरीलाई भावनात्मक रूपमा जोड्ने यो सबैभन्दा बलियो डोरी हो। जबसम्म गाउँबाट मायाको पोको शहर आइपुग्छ, तबसम्म हाम्रो सम्बन्ध, संस्कृति र रैथाने स्वाद जीवन्त रहनेछ। यो परम्परा पैसाले किन्न नसकिने हाम्रो मौलिक पहिचान हो।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?