स्थानीय अन्न प्रवर्द्धनमा फेदीखोलाको ऐतिहासिक कदम, विद्यालय खाजामा हप्ताको दुई दिन कोदो अनिवार्य
स्याङ्जा :स्याङ्जाको फेदीखोला गाउँपालिकाले स्थानीय अन्नको संरक्षण र प्रवर्द्धनमा एक ऐतिहासिक निर्णय गरेको छ। गाउँपालिकाले आउँदो प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ साउन १६ गतेदेखि आफ्ना मातहतका विद्यालयहरूमा हप्तामा कम्तीमा दुई दिन दिवा खाजामा कोदोबाट बनेका परिकार अनिवार्य गर्ने भएको हो।
यो निर्णयसँगै अब विद्यालयका दिवा खाजामा कोदोको ढिँडो, मःमः, तावा रोटी, पुवा, सेलरोटी, चिउरा, हलुवा र सूपजस्ता स्वादिला तथा पौष्टिक परिकारहरू समावेश हुनेछन्। गाउँपालिकाको यो कदमले लोपोन्मुख स्थानीय बालीको संरक्षण गर्दै विद्यार्थीहरूको पोषण अवस्था सुधारमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले यो अभियान केवल विद्यालयमा मात्र सीमित नहुने बताउनुभयो। “हामीले विद्यालयदेखि सभा–सेमिनारसम्म अब कोदोका परिकारलाई प्राथमिकता दिनेछौं,” अध्यक्ष सुवेदीले भन्नुभयो, “वडा कार्यालय, चमेना गृहदेखि गाउँपालिकाले आयोजना गर्ने हरेक सार्वजनिक कार्यक्रमहरूमा समेत कोदोका परिकारलाई अनिवार्य बनाउने नीति लिएका छौं।”
गाउँपालिकाले कोदोको पोषण मूल्य, खाद्य सुरक्षामा यसको योगदान, कृषकहरूको आयआर्जन वृद्धि, र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने जस्ता बहुआयामिक लाभलाई केन्द्रमा राखेर यो नीति अघि सारेको हो।
कोदो दिवसमा विशेष कार्यक्रम
यो अभियानलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले साउन १६ गते ‘कोदो दिवस’को अवसरमा फेदीखोला–१, रामकोटमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त दिन कोदो रोपाइँ, कोदोका विभिन्न परिकारहरूको प्रदर्शनी तथा प्रयोगात्मक कार्यक्रममार्फत समुदायस्तरमा चेतना फैलाइने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो।
उल्लेखनीय छ, पालिकाले विद्यालयस्तरमा सचेतना फैलाउन २०७७ सालदेखि नै कक्षा ६ को स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोला’ मा ‘कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षकको पाठ समावेश गरिसकेको छ।
फेदीखोला गाउँपालिकाको यो कदम कोदोको प्रवर्द्धन मात्र नभई स्थानीय पहिचान, स्वस्थ जीवनशैली र आर्थिक आत्मनिर्भरताको दिशामा एक शक्तिशाली सन्देश हो। यसले भविष्यमा अन्य स्थानीय तहहरूका लागि पनि अनुकरणीय उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
