पश्चिमी नेपालमा मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन २९ गते ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। यी प्रदेशहरूका पहाडी तथा तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति देशको पहाडी भू-भागमा बदली रही गण्डकी प्रदेशको पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ। यस्तै, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान छ।
विभागले भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
