कृषकहरू घरदैलोमा तरकारी बेच्दै

हेटौडा — बिचौलियाका कारण थोक बजारसहित गाउँमा पनि तरकारीको मूल्य नपाएकाले कृषकहरू आफैंले हेटौंडाका चोकचोकमा तरकारी बिक्री गर्न थालेका छन् ।

बिचौलिया र थोक बजारमा तरकारी बिक्री गर्न खोज्दा उचित मूल्य नपाएका कारण हाँडीखोलाका कृषकहरूले २ सातादेखि हेटौंडाको आवासीय क्षेत्रका चोकचोकमा काउली र बन्दाकोपी बिक्री गरिरहेका हुन् ।

बिचौलियाले गाउँमा ५ रुपैयाँ प्रतिकिलो काउली र बन्दाकोपी खरिद गर्न खोजेको र कृषकहरू आफैं हेटौंडास्थित थोक बजार बिक्री गर्न खोज्दा प्रतिकेजी १० रुपैयाँ मात्र दिएकाले मनहरी गाउँपालिका ३ हाँडीखोला भुन्द्रुङका उद्धव मल्ल, उत्तम तिवारी, गणेश चेपाङ र तोयानाथ हुमागाईले मिलेर आफ्नो खेतमा उत्पादन भएका काउली, बन्दा घरदैलोमा डुलेर बिक्री गरिरहेका छन् ।

काउली र बन्दाकोपी हेटौंडाको आवासीय क्षेत्रमा प्रतिकेजी १५ रुपैयाँमा सहज ढंगले बिक्री भइरहेको छ । कृषक उत्तम तिवारीको सानो गाडी प्रयोग गरेर चार जना कृषकले संयुक्त रूपमा काउली, बन्दा बिक्री गर्दै आएका छन् । तरकारीको उचित मूल्य नपाएका कारण घरदैलो गर्नुपरेको कृषक उद्धव मल्लले बताए । मनहरी गापा ३ का वडा समितिका सदस्यसमेत रहेका मल्लले दैनिक १६ क्विन्टल काउली र ८ क्विन्टल बन्दा बिक्री भइरहेको जनाए ।

तरकारी खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको हाँडीखोलामा उद्धव मल्लले १५ कट्ठा, उत्तम उप्रेतीले १५ कट्ठा, गणेश चेपाङले ८ कट्ठा र तोयानाथ हुमागाईले १० कट्ठामा काउली र बन्दाकोपी खेती गरेका थिए । गाडी प्रयोग गरी घरदैलो गरेर कम्तीमा लागत उठाउन पाए पनि राहत हुने अपेक्षा उनीहरूको छ ।

‘समाचारहरूमा कृषकले उचित मूल्य नपाएर तरकारी बालीमै टयाक्टर, डोजर लगाए भन्ने आइरहेको छ,’ हुमागाईले भने, ‘अरूले जस्तो उत्पादित तरकारी नै नष्ट गर्न नसकेर लागत उठाउनकै लागि मात्रै भए पनि उपाय लगाइरहेका हौं ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?