जसले युगौँसम्म हाम्रो भोक मेटायो, आज ऊ आफैँ अस्तित्वको लडाइँ लड्दैछ: कागुनोको एउटा नभनिएको व्यथा
एक रैथानेको सुस्केरा: म कागुनो बोल्दैछु …..
म कागुनो, जसलाई गाउँघरमा कतै काउनी त कतै काउनो भनेर बोलाइन्छ। मेरो जीवनका पाटाहरू अचम्मका छन्। म त्यस्तो ठाउँमा जन्मिन्छु र हुर्कन्छु जहाँ अरू अन्नले पाइला टेक्न डराउँछन्। हिमाल र पहाडका कडा चट्टानी भूगोल, थोरै पानी र कमजोर माटोमा पनि म मुस्कुराउँदै फल्न सक्छु। मलाई न महँगो विषादी चाहिन्छ, न त रासायनिक मलको न्यानो नै। थोरै रेखदेखमा पनि प्रशस्त फल दिएर किसानको भकारी भर्नु मेरो स्वभाव हो। तर विडम्बना! जसको आँगनमा म जन्मिएँ, आज उनीहरू नै मलाई बिर्सेर ‘चिल्लो चामल’ को पछि कुदिरहेका छन्।
मेरो शक्ति र मानिसको भ्रम
मलाई धेरैले “गरिबको अन्न” भनेर हेपे। तर वास्तविकतामा म स्वास्थ्यको खानी हुँ। मभित्र लुकेको फाइबर र प्रोटिनले मानिसलाई केवल ऊर्जा मात्र दिँदैन, बरु मधुमेह , मुटुको समस्या र मोटोपन जस्ता आधुनिक रोगहरूविरुद्ध लड्ने क्षमता पनि दिन्छ। म पाचन सुधार गर्ने र शरीरलाई भित्रैदेखि बलियो बनाउने प्राकृतिक औषधि हुँ। म मात्र होइन, मेरो नाल खाएर लैनो गाई-भैँसीले दिने दूधको गुणस्तर नै छुट्टै हुन्छ। म सानो छु, तर मभित्र मानवता बचाउने ठूलो शक्ति छ।
हराउँदो वंश र फर्किँदै गरेको साख
अहिले मेरो मन रुन्छ जब म आफ्ना भाइहरू चिनो, सेतो कोदो, धान कोदो र घोंगेहरूलाई बारीमा देख्दिनँ। हाम्रो वंश नै मेटिने अवस्थामा पुगेको छ। कुलपूजाका लागि समेत हामीलाई सात समुन्द्र पारिबाट किनेर ल्याइन्छ रे भन्ने सुन्दा मलाई धिक्कार लाग्छ। तर, समय सधैं एकनास रहँदैन। आज सहरका ठूला होटल र सम्पन्न परिवारका भान्सामा मेरो खोजी हुन थालेको छ। कुकिज, बिस्कुट, खिर र पुलाउका रूपमा मेरो पुनर्जन्म भइरहेको छ। हिजो गाउँले हेपेको म, आज सहरको “सुपरफूड” बनेको छु।
मेरो सानो अनुरोध
म केवल एउटा अन्नको दाना मात्र होइन, म तपाईंहरूको पुर्खाको पसिना, संस्कृति र भविष्यको खाद्य सुरक्षा पनि हुँ। म हिजो पनि तपाईंहरूको साथमा थिएँ, आज पनि छु र भोलि जलवायु परिवर्तनको कठिन समयमा पनि तपाईंहरूलाई भोकै मर्न दिने छैन। मेरो एउटै चाहना छ, मलाई चिन्नुहोस्, मलाई जोगाउनुहोस्। तपाईंले मलाई माटोमा जोगाउनुभयो भने, म तपाईंको सन्ततिलाई रोग र भोकबाट जोगाउने वाचा गर्दछु।
यो केवल कागुनोको कथा होइन, हाम्रो हराउँदै गरेको मौलिक पहिचानको ऐना हो। लामो समयदेखि नेपाली माटो र रैथाने जीवनशैलीको उत्थानमा समर्पित तिलक ढकालज्यूको यो अनुभव र लेखले हामीलाई गहिरो गरी झकझक्याएको छ। उहाँको यो सन्देशले हामीलाई परनिर्भरता त्यागेर आफ्नै माटोको गौरव जोगाउन र आफ्ना सन्ततिको भविष्य सुरक्षित गर्न प्रेरित गर्दछ।
