अलैची बगान सखाप पार्दै बादरको हुल

फिदिम : बाँदरले अलैंचीको टुसा च्यात्दै गुभो खान थालेपछि किसान चिन्तित बनेका छन् । मुख्य आम्दानीको स्रोत बनेको अलैंची फुलेर फल लाग्ने सिजनमै बाँदरले गुभो र फूल खान थालेपछि पाँचथरको पूर्वी भेगका किसान चिन्तित बनेका हुन् ।

बाँदरले अघिल्लो वर्षदेखि अलैंचीको गुभो खाएर दु:ख दिन थालेको किसानको भनाइ छ । बाँदरको हुल अलैंची बगानमा पसेपछि एकैछिनमा सखाप पार्न थालेको फालेलुङ–७ का सुरेश अधिकारीले बताए । ‘किसानले सहज रूपमा उत्पादन गर्दै आएको अलैंचीमा बाँदर आतंक हुन थालेको छ’, उनले भने, ‘जंगलमा उत्पादन हुने अलैंची जंगलमै बस्ने बाँदरले खान थालेपछि धपाउने कुनै उपाय छैन ।’ गुभो खोज्ने क्रममा बाँदरले अलैंचीको बोट धुजाधुजा बनाएको जनाइएको छ ।

गुभो खान पल्किएका बाँदरको बथानले बगान चहार्न थालेको किसानको भनाइ छ । ‘सयौंको संख्यामा रहेका बाँदरले बगान पसेपछि एकैछिनमा ढुट्टो पार्ने गरेका छन्’, अलैंची किसान डम्बरहादुर राईले भने, ‘अलैंची जंगलमा हुने भएकाले रेखदेख गर्न पनि सकिँदैन ।’

सुर्केनागीका अलैंची किसान याम कुरुङबाङले यो सालदेखि बाँदरले नयाँ बदमासी सुरु गरेको बताए । भने, ‘बाँदरको यस्तो बदमासी नरोक्ने हो भने अलैंची खेती नै सखाप हुन्छ ।’ बाँदरको हुल ठूलो हुने भएकाले पनि क्षणभरमै अलैंची बगान सखाप पार्छन् । ‘अलैंचीकै बोटमा छलियो भने पनि बाँदर देखिँदैन’, उनले भने, ‘बगान जोगाउन बाँदरलाई नियन्त्रण गर्ने कुनै उपाय नै भएन ।’

अलैंचीको गुभो खान पल्किएका बाँदर धपाउन नसकेपछि किसान वैकल्पिक खोजीमा छन् । अलैंची बगानमा विषादी हान्दा अन्य जीवजन्तु मर्ने भएकाले किसान बाँदर नियन्त्रण गर्ने विकल्पको खोजीमा लागेका हुन् । वैकल्पिक उपाय नसोच्ने हो भने अलैंची सखाप हुने किसानको चिन्ता छ ।

अन्नपुर्ण बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments