पर्वतमा चैतेधानको अनुसन्धान शुरु

पर्वत। परम्परागत रूपमा चैतेधान रोपिँदै आएको पर्वतमा पहिलोपटक यसको अनुसन्धान भएको छ । कृषि प्राविधिकले १३ प्रकारका चैतेधानको बीज अनुसन्धान गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धान जोन) र रामपुर कृषि क्याम्पस चितवनका प्राविधिकले गरेको बीज अनुसन्धानमा तीनओटा जात उत्कृष्ट रहेको ठहर गरिएको छ ।

प्राविधिकले ८०० देखि एक हजार मिटरको उचाइसम्म फल्ने विभिन्न प्रजातिका धानको ल्याब परीक्षण गरेका थिए । किसानले उत्पादन गर्दै आएको स्थानीय जात र आयातित जातको छट्टाछुट्टै परीक्षण गरिएको धान जोन एकाइका प्रमुख धनबहादुर थापाले जानकारी दिए । थापाका अनुसार जिल्लाको हावापानी र भूगोलमा हर्दीनाथ १, हर्दीनाथ ३ र चैते ५ जातका धान सफल देखिएका छन् ।

“वर्षौंदेखि धानका जातको अनुसन्धान भएको थिएन”, उनले भने, “सिफारिस नै नभएका जातको धान अधिकांश ठाउँमा लगाइदो रहेछ ।” नयाँ नयाँ जात फेर्दै जानुपर्नेमा किसानले वर्षौंदेखि एउटै जात लगाउँदा अपेक्षित उत्पादन लिन नसकेको उनले बताए । पर्वतका किसानले सीएच–४५, चैते–२, चैते–४ र चैते–६ खुमलटार, टाँकमारेलगायत जात रोप्दै आएका छन् ।

कृषि प्राविधिकले उच्च स्थानमा रहेको पाङको खरीबोट र तल्लो तटीय क्षेत्र कुश्माको अर्मादीमा धानको ब्याड बनाएर अनुसन्धान गरेका हुन् । माघ महिनामा ब्याड बनाएर चैतमा रोपिएको धान अहिले स्थानीय जातको दोब्बर उत्पादन भएको पाइएको छ ।

कार्यालयका अनुसार स्थानीय जातको धान प्रतिहेक्टर तीन दशमलव तीन टन उत्पादन हुने गरेकोमा अनुसन्धान गरिएको प्रजातिका धान प्रतिहेक्टर पाँचदेखि छ टनसम्म उत्पादन हुने अपेक्षा गरिएको रामपुर क्याम्पसका अनुसन्धाता गङ्गाराम सुवेदीले बताए। पर्वतका जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र पैयुँ गाउँपालिकाका केही क्षेत्रमा चैते धान रोप्ने गरिएको छ । पर्वतको कुश्मा, मोदी र फलेवासमा धान जोन कार्यक्रम सञ्चालित रहेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?