चरकपारा ग्रामथानमा धिमाल सङ्ग्रहालय

दमक। पूर्वी तराईका आदिवासी धिमालको सघन बसोबास रहेको झापाको दमकस्थित चरकपारा ग्रामथानमा धिमाल सङ्ग्रहालय निर्माणकार्य भइरहेको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत दमक–९ को चियादोकान चोकबाट ३०० मिटर दक्षिणमा रहेको करीब साढे पाँच कठ्ठा जमिनमा धमाधम सङ्ग्रहालय निर्माण भइरहेको छ ।

आफ्नो कला, संस्कृति संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले छ वर्षदेखि सङ्ग्रहालयमा आवश्यक पूर्वाधार निर्माण भइरहेको धिमाल जातीय विकास केन्द्र झापाका अध्यक्ष मणिराज धिमालले बताए। उनका अनुसार यो सङ्ग्रहालय निर्माणको प्रारम्भ नागरिकस्तरसहित राज्यले नै महत्व दिएर बजेट छुट्याउन थालेपछि सङ्ग्रहालय बन्ने अवस्थामा पुगेको छ ।

यो सङ्ग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा प्रदेश नं १ सरकारले रु ४० लाख बजेट विनियोजन गरेपछि अहिले धमाधम काम भइरहेको धिमाल समुदायका अगुवा लोकबहादुर धिमाल बताउँछन् । उनकै अध्यक्षतामा सरोकारवालाको सहभागिता रहने गरी एक उपभोक्ता समिति गठन गरेर सङ्ग्रहालय निर्माणको योजनालाई अघि बढाइएको छ । दमक नगरपालिकाले धिमाल जातिलाई दमकको पहिलो नागरिक घोषणा गरेर यी समुदायलाई अझै महत्व दिँदै आएको छ ।

सङ्ग्रहालयमा धिमाल महिलाले घर भान्सामा प्रयोग गर्ने नाङ्लो, ओख्लीदेखि पुरुषहरुले प्रयोगमा ल्याउने माछा मार्ने जाल, शिकार खेल्नेतिर, धनुष र कृषिकर्ममा प्रयोग गरिने कुटो कोदालो राखिएको छ । ग्रामथान परिसरभित्र धिमालहरुको मौलिकता झल्किने पेटानीलगायत सांस्कृतिक भेषवूषासहित कैयौँ प्राचीन संस्कृतिजन्य सामग्री राखिएको दमक–९ का वडाध्यक्ष रामबहादुर धिमालले बताए । उनले भने, “आदिवासी धिमाल जातिसम्बन्धी अध्ययन गर्नका लागि यस सङ्ग्रहालय उपयोगी बन्ने छ ।”

यो ग्रामथानमा स्थानीय धिमालले आफ्नो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जात्री पर्वका दिन विशेष महत्वका साथ पूजाआजा गर्ने र मेला बजार लगाउने चलन छ । त्यसो त झापा र मोरङका झण्डै १०० स्थानका ग्रामथानमा हरेक वर्षको वैशाख १ देखि नै प्रकृतिको पूजाआजा गरी ग्राम देवतालाई खुशी पार्ने चलन छ । चरकपारामा रहेको यो ग्रामथानलाई भने विसं २०६२र६३ को राजनीतिक परिवर्तनपछि राज्यका निकायको धेरथोर ध्यान जानुका साथै आफ्ना संस्कार, संस्कृतिको संरक्षणमा समेत सहयोग पुर्याउँदै आएको वडाध्यक्ष धिमालले बताए।

यो सङ्ग्राहालय निर्माणको प्रारम्भ नागरिकस्तरबाट दशकौँ अघि शुरु गरिए पनि राज्यले नै महत्व दिएर बजेट छुट्याउन थालेको र यसबीचमा सदियौँ वर्षदेखि विकास र परिवर्तनको अनुभूति गर्न नपाएका धिमालले पाँच वर्षका बीचमा स्थानीय तह पुनःसंरचनापछि भने आफ्नो भाषा, संस्कृति संरक्षणमा राज्यको क्रियाशीलता पनि महसुस गर्दै आएको वडाध्यक्ष धिमाल बताउँछन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?