अलैँची राम्ररी फस्टाउन थालेपछि किसानले पुनः बिरुवा रोप्न थाले

इलाम:

अलैँची विकास केन्द्र इलामले यो सिजनमा दुई लाख ६० हजार अलैँचीका बिरुवा बिक्री गरेको छ । केन्द्रले प्रतिगोटा पाँच रुपियाँँका दरले १३ लाखको बिरुवा बिक्री गरेको हो । पछिल्ला वर्षमा अलैँची राम्ररी फस्टाउन थालेपछि किसानले पुनः बिरुवा रोप्न थालेको अलैँची विकास केन्द्र पान्दामका प्रमुख पदम अधिकारीले बताउनुभयो ।

केन्द्रले रामसाही र गोलसाही जातका अलैँचीका बिरुवा उत्पादन गरी बिक्री गरेको अधिकारीले जानकारी दिनुभयो । यसपटक केन्द्रले उत्पादन गरेका बिरुवा पश्चिमी जिल्ला बाजुरामा दस हजार, पाँचथरमा एक लाख दस हजार र बाँकी इलाममै बिक्री भएको छ ।
यस वर्ष हामीले ३२ महिनाका बिरुवा बिक्री ग¥यौं, आगामी वर्ष भने टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन गर्ने लक्ष्य राखेका छौँ अधिकारीले भन्नुभयो, टिस्युकल्चरका लागि भवन तयार भइसकेको छ अब सामग्री खरिद गरेपछि काम सुरु हुन्छ ।

टिस्युकल्चर प्रविधि भनेको अलैँचीको, जरा, डाँठ वा अन्य कुनै पनि भागबाट सानो टुक्रा निकालेर त्यसैबाट बिरुवा बनाइन्छ । यस प्रविधिबाट उत्पादन गरिएका बिरुवामा रोग लाग्दैन, धनकुटामा पनि यो प्रविधि सफल भएको छ अधिकारी भन्नुहुन्छ ।

टिस्युकल्चरबाट धेरैभन्दा धेरै बिरुवा उत्पादन गर्न सकिए पनि पहिलो वर्ष आठ–दस हजार बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । केन्द्रले ९० लाख रुपियाँँको लागतमा टिस्युकल्चरको भवन निर्माण गरेको छ । अब यस प्रविधिका लागि आवश्यक लेमिनार फ्लो, इन्कुबेटरजस्ता सामग्रीलाई पाँच लाख रुपियाँ जति लाग्ने र ती सामग्री चाँडै ल्याइने जनाइएको छ । केन्द्रले टिस्युकल्चरबाट आगामी माघ महिनादेखि बिरुवाको तयारी थाल्ने र यी बिरुवा दुई वर्षमा रोप्न योग्य हुने जनाएको छ ।

तर यो वर्ष बगान नै अलैँचीको पात रातो हुने, डाँठ कुहिने र बगान नै सुक्ने समस्याले किसान भने निराश भएका छन् । भर्खरै उत्पादन सुरु भएका बगानमा यस्तो रोग देखा परेपछि पुनः लगाउन थालिएको अलैँचीलाई कसरी बचाउने भन्ने समस्या भएको किसानहरू बताउँछन् । अलैँची बगान नै रातो देखिनु, डाँठ कुहिनु र फल नलाग्नु ढुसी रोग भएको केन्द्र प्रमुख अधिकारीले बताउनुभयो । समयमा पानी नपुग्ने, मल तथा गोडमेलको कमीले यस्तो भएको हो अलैँचीमा ढुसी देखा प¥यो भने डाइथेनम ४५ र कपर क्लोराइड प्रयोग गर्नुपर्छ, अधिकारीले भन्नुभयो, ढुसी नाशक यो विषादीले अलैँचीको जरा भिज्ने गरी प्रयोग गरियो भने समस्या समाधान हुन्छ ।

विगतभन्दा अलैँचीको मूल्य कम भएकाले निराश भएका किसानले भने क्रमशः मूल्य बढ्न थालेपछि पुनः अलैँची रोप्न जाँगर चलाउन थालेको अधिकारीले बताउनुभयो । इलामको एक हजार छ सय हेक्टर जमिनमा अलैँची खेती हुन्छ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा ५७६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । नेपालमा भने १७ हजार हेक्टरमा खेती हुने अलैँची आर्थिक वर्ष २०७३÷७४ मा १२ हजार पाँच सय आठ मेट्रिकटन अलैँची उत्पादन भएको थियो ।

इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, ओखलढुङ्गा, उदयपुर, लमजुड., कास्की, सल्यान, दैलेख, सुर्खेत, अछाम, डोटी, बैतडीसमेत ४० जिल्लामा अलौची ब्गान विस्तार भएको अलैँची विकास केन्द्र पान्दमले जनाएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार नेपालबाट बर्सेनि साढे चार अर्ब रुपियाँँको अलैँची विदेश निर्यात हुने गरेको छ । केन्द्रका अनुसार सन् २०१७ मा नेपालबाट ७६ लाख ६० हजार ६७७ किलो अलैँची निकासी भएको छ । यसबाट चार अर्ब ५० करोड ६३ लाख ४६ हजार रुपियाँ आम्दानी भएको छ ।

गोरखापत्र अनलाइन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments