स्याउ उत्पादन : समस्यै समस्या

मुस्ताङ, मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका मार्फा–२ का स्याउ किसानलाई उत्तरी हावाले चिन्तित पारेको छ । मुस्ताङी किसानका अनुसार दक्षिण दिशाबाट हावा लागे त्यति धेरै चिन्तित रहनुपर्दैन तर उत्तरी हावा बढी लाग्न थालेपछि भने उनीहरूमा चिन्ता थपिन्छ । किसान मनबहादुर हिराचन भन्नुहुन्छ, यस वर्ष पनि उत्तरी हावा बढी चलेको छ । यसले स्याउको उत्पादन राम्रो हुन दिँदैन ।

यस वर्ष बेमौसमी वर्षा र हिउँका कारण पनि स्याउको बोटमा अप्रत्याशित रूपले नयाँ रोग देखापर्न थालेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, नयाँ–नयाँ रोग देखापर्छ । के उपचार गर्ने भन्ने ठोस सुझाव प्राविधिकले समयमा दिनै सक्दैनन् ।’ वि. सं. २०६२ सालदेखि स्याउ खेती गर्दै आउनुभएका हिराचनका बगैँचामा ४० देखि ४५ वर्ष पुरानादेखि लिएर यसै वर्ष लगाइएका फुजी जातका स्याउ पनि छन् । स्याउका बोट सामान्यतः १२, १३ वर्ष भएपछि राम्रो उत्पादन दिन सक्ने हुन्छन् । हालै नमुना परीक्षणका रूपमा लगाइएको फुजी, गोल्डेन डेलिसियस, रेड डेलिसियस जातका स्याउले भने छिटै उत्पादन दिने भनिएकाले हिराचनले पनि ती स्याउका बोट यसै वर्ष मात्र लगाउनुभएको छ ।

शितोष्ण बागवानी विकास केन्द्र मार्फाका वरिष्ठ बागवानी विकास अधिकृत बालकृष्ण अधिकारी मुस्ताङको १२ सय हेक्टर क्षेत्रफलमा हाल उत्पादनशील स्याउका बोट रहेको बताउनुहुन्छ । स्याउका बोटमा जरा कुहिने, भुवादार लाइ, सुलसुलेजस्ता कीरा लाग्ने र नर्सरीमा खुर्मे कीराको प्रकोप बढी देखिने गरेको बताउनुहुन्छ । मुस्ताङमा उत्पादित स्याउको बजार अभाव नभएकाले पछिल्ला वर्षमा स्याउ क्षेत्र विस्तार भएरहेको उहाँको दाबी छ ।केन्द्रले विभिन्न किसिमका तरकारीका मूल बीउ उत्पादन तथा बिक्री वितरण पनि गर्दै आएको छ । गत वर्ष केन्द्रले विभिन्न किसिमका बीउ वितरण गरेर करिब ६३ लाख राजस्व सङ्कलन गरेको पनि प्रमुख अधिकारीले जानकारी दिनुभयो । केन्द्रले नयाँ स्याउका २४ हजार बिरुवा वितरण गरेको उहाँको भनाइ छ । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन पनि स्थापना भएको छ । स्याउ जोनअन्तर्गतको परियोजनालाई पनि केन्द्रले सहयोग गर्दै आएको प्रमुख अधिकारीको भनाइ छ ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?