हरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाई–हाई विपत्तिमा कोही छैन दाजुभाइ’

चिप्लेढुङ्गा : पोखरा महानगरपालिका–१७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लाष्टिकले बेरेर ओत बनाइएको छ । त्यही ओतमुनि केही हरिया मकै आगोको भुङ्ग्रोमा ओल्टाइपल्टाई गर्दै ग्राहकको पर्खाइमा हुनुहुन्छ एक वृद्धा । विगत १० वर्षदेखि एउटै दिनचर्यासँगै उहाँको जीवन बितिरहेको छ । उहाँको नाम अरुको सहारामा हुर्केबढेकाले सहारा क्षेत्री रह्यो । “म जन्मेको एक महिनामा आमा बित्नुभयो रे, जसले भेट्यो उसले पाले । अरुको सहाराबाटै हुर्कैँदै गएँ । मलाई सहारा दिने आमाको मामाकी छोरीले १६ वर्षमा घर बनाउने काम गर्ने एउटा मान्छेसँग बिहे गरिदिइन् । उसको घर काठमाडौँको छेउ पर्छ रे तर, श्रीमान्ले कहिल्यै घर लगेनन् ।

घरमा सौता छोराछोरी पनि छन् रे । मलाई यता ९पोखरा० ल्याए, दशकअघि बूढा पनि मरे, चार छोराछोरीले आफ्नै सुर गरे ।” आगोको भुङ्ग्रोमा दाउरा झोस्दै क्षेत्रीले भन्नुभयो, “भाग्यले ठगेकाहरुलाई सधैँ दुःख मात्र लेखेको हुन्छ, कर्म गरेर पनि कहाँ सुख मिल्छ र नानी, पाखुराले साथ दिएसम्म दुःख गरेर खान्छु, नसक्ने दिन ईश्वरको भर ।” जीवनसँग निराश भए पनि बाँच्नुको विकल्पमा परिश्रमसँग जोडिनुभएकी क्षेत्रीले छोराछोरीका बारेमा केही बोल्न चाहनुभएन । निकै भारी मन गर्दै उहाँले भन्नुभयो, “छोराछोरीको कुरै नगर, जन्माएँ, दुःखले हुर्काएँ, अहिले कसैले हेर्दैनन्, बिरामी भएर अस्पताल भर्ना हुँदा पनि कसैले फोन उठाएनन् ।

दुई छोरा, दुई छोरी जन्माएँ, कोही नारायणघाट छन् कोही हेटाँैडा होलान् कुन्नि, बिरामी हुँदा वास्ता नगर्ने सन्तानलाई जन्माएकी हुँ भनेर किन सम्झनू रु ” ‘मनको पीडा कसलाई सुनाउनू, आफ्नो पीडा आफैँसँग छ’ उहाँले भन्नुभयो । एक गाँस खानाका लागि बिहानदेखि बेलुकासम्म तातो भुङ्ग्रोमा पसिना बगाउनुपरेको उहाँले सुनाउनुभयो ।


‘सम्पत्तिमा सबैको हाइहाई विपत्तिमा कोही छैन दाजुभाइ’

पोखराको घारीपाटन कृष्णमन्दिर छेउको एक घरमा रु दुई हजार ५०० कोठाभाडा तिरेर बस्दै आउनुभएकी क्षेत्रीले अरुले मकै र दाउरा ल्याइदिने र आफूले एकै ठाउँमा बसेर बेच्ने गरेको बताउनुभयो । “मकै कहिले रु १३÷१४ मा ल्याइदिन्छन् । पोलेर रु ४० मा बेच्छु, दाउरा पनि एउटा बाबुले ल्याइदिन्छ, सबैलाई गुहार माग्दै चलाएकी छु । दिनको २५÷३० मकै बेच्छु, कहिले त बिक्दैन, भाडा तिर्न गाह्रो भएको छ ।”

बयासी वर्षीया क्षेत्रीले रक्तचापको समस्या भएकाले सरसापट गरेर दुई दिनअघि मात्रै रु एक हजार ३०० को औषधि किनेर खाइरहेको बताउनुभयो । हप्ताको एक दिन चर्चमा गएर दिन बिताउने गरेको सुनाउँदै उहाँले भन्नुभयो, “सम्पत्तिमा सबैको हाई–हाई विपत्ति कोही छैन दाजुभाइ ।” बाटोमा सधैँै मकै बेचिरहेको देख्दा सम्भव भएसम्म मकै खरिद गरिदिने गरेको काँग्रेस नेतृ सरस्वती गुरुङले बताउनुभयो । “यो बाटोमा सधैँ आमाले मकै पोलेको देख्छु । समय मिलेसम्म धेरथोर पोलेका र काँचो मकै किनेर लाने गर्छु ।”

बूढेसकालमा छोराछोरी आफन्तका साथमा रमाएर बिताउनुपर्ने समय आगोमा पसिना बगाउँदै सङ्घर्ष गर्नुभएकी आमाको दुःखले मन बिझाउने गरेको गुरुङको भनाइ छ । घारीपाटनका गणेश थापाले बूढेसकालमा पनि दुःख गरेर कसैको सहाराबिना परिश्रम गरेर बाँचिरहेको बताउनुभयो ।रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments