६ हजार मेट्रिकटन कालीमार्सी धान उत्पादन, रैथाने खेतीमा किसानको आर्कषण

जुम्ला :उन्नत जातको धान भन्दा रैथाने कालीमार्सी धानको खेतीमा जुम्ली किसानको आर्कषण देखिएको छ । उन्नत धान भन्दा कालीमार्सीको बजार मूल्य पनि बढी र राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा माग पनि बढ्दै गएकाले कालीमार्सी धान खेतीमा जुम्ली किसान आर्कषित भएका हुन् ।

हाल जुम्लाको २९ सय हेक्टर जमिनमा धान खेती भइरहेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जुम्लामा खेतीयोग्य जमिनमध्ये आधा भन्दा बढीमा कालीमार्सी धान खेती हुने गरेको बताए । उनले भने, “२९ सय हेक्टरमध्ये १५ सय हेक्टरमा रैथाने कालीमार्सी धान र १४ सय हेक्टरमा उन्नत जातको धान खेती भइरहेको छ ।” जुम्लाका करिब ५५ प्रतिशत किसानले कालीमार्सी धानको खेती गरिरहेका छन् ।

जुम्लामा पाँच वटा जातको धान खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जसमा चन्दननाथ १ चन्दननाथ २ र लेकाली १ लेकाली २ गरी उन्तत जातको र रैथाने कालीमार्सी गरी पाँच जातको धानी खेती भइरहेको प्रमुख देवकोटाको भनाइ छ ।
नेपालमै महंगो मूल्यका रुपमा प्रतिकेजी १ सय २ रुपैयाँ कालीमार्सी धानको मूल्य निर्धारण समेत गरिएको छ । हालै १८ टन कालीमार्सी धानको चामल क्यानडा निर्यात भएपछि र देशभरका कोसेली घरमा जुम्ली कालीमार्सी चालमको माग बढ्न थालेपछि किसानको आर्कषण बढेको हो ।

बजारको मागअनुसार कालीमार्सी धान खेतीको क्षेत्र विस्तारका लागि कृषि कार्यालयले योजना बनाएको छ । देशभर असार १५ गते धान दिवस मनाएपनि जुम्लामा चैत १२ गते धान दिवस र जेठ १५ गते रोपाई महोत्सव मनाउने गरिन्छ ।

६ हजार मेट्रिकटन धान उत्पादन

जुम्लामा यस वर्ष करिब १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको छ । करिब ५ वर्ष यता जुम्ली रैथाने बाली उत्पादनमा ४० प्रतिशतले गिरावट आएको सरकारी अनुमान छ । मार्सीधानको उत्पादनमा भने केही वृद्धि भएको छ । १२ हजार मेट्रिकटन अन्नबाली उत्पादन हुँदा मार्सीधान मात्रै ६ हजार ६ सय ७० मेट्रिकटन उत्पादन भएको छ । अझै धानको उत्पादकत्व बढाउन आठै स्थानीय तहले कृषि केन्द्रित नीति तथा बजेटको व्यवस्थापन गर्न आवश्यक रहेको कृषि विज्ञहरु बताउँछन् ।

यस वर्ष मार्सी धान ६ हजार ६ सय ७० मेट्रिकटन उत्पादन भएको छ भने गहुँ ५ हजार २ सय ९० मेट्रिकटन, ६ हजार ५ सय ६० मेट्रिकटन वर्षे मकै, कोदो ४ हजार २ सय ९० मेट्रिकटन उत्पादन भएको छ । जौ ७ हजार ६ सय ५० मेट्रिकटन, फापर ९८ मेट्रिकटन, उवा १५ मेट्रिकटन, चिनो २ सय ४० मेट्रिकटन र कागुनो १४ मेट्रिकटन गरी जम्मा १२ हजार ३ सय ८ मेट्रिकटन रैथाने खाद्यबाली उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments