एक करोड रुपैयाँको चलखेल भएको मोरङको बोयर घोटालाको उजुरी अख्तियारमा

बोयर बोका

विराटनगर : एक करोड रुपैयाँको चलखेल भएको मोरङको बेलबारी नगरपालिकाको विवादित बोयर बाख्रा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

बाख्राका नाममा किसानलाई फसाउने र सरकारी रकम अनियमितता गर्नेलाई कारबाहीका लागि पहल गर्नुपर्ने जनप्रतिनिधि भ्रष्टाचार गर्नेको संरक्षणमा लागेको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएका हुन्।

स्थानीय अगुवा खेमराज गौतम सहित बेलबारीका छ जना युवाहरूले बाख्रा प्रकरणको अनुसन्धान एवं छानबिन गरेर कारबाही अघि बढाउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा संयुक्त उजुरी दिएका हुन्।

‘जनतासँग गरेका प्रतिवद्धता भुलेर जनप्रतिनिधि भ्रष्टचारीलाई बचाउन लागेको प्रमाणित भइसकेको छ,’ गौतम भन्छन्, ‘गलत गर्नेलाई कारबाही गर्ने विषयमा जनप्रतिनिधि नै बाधक बनिरहेका छन्।’

अख्तियार इटहरीका सूचना अधिकारी पुरुषोत्तम ढकालले उजुरीमाथि छानबिन र अनुसन्धान भइरहेको बताए। बोयर बाख्रा खरिदका लागि नगरपालिकाले ग्रो अर्गेनिक एग्रिकल्चर प्रालि (कृषि फार्म)सँग सम्झौता गरेको थियाये। ‘सेटिङ’मा ठेक्का पारेपछि प्रालिमार्फत व्यवसायी श्यामराज पाण्डेले आयात गरेको बाख्रा नगरले कृषक र कृषि फार्मलाई वितरण गरेको थियो। अस्ट्रेलियादेखि ‘जहाज चार्टर’ गरेर बोयर जातका बाख्रा ल्याएको भन्दै पश्चिम नेपालबाट संकलन गरेर ल्याइएका बाख्रा वितरणमा उनको प्रत्यक्ष संलग्नता रहेको पाइएको छ।

पाण्डेकै गलत हर्कतका कारण नगरपालिकाको बद्नाम भएपछि मेयर ज्ञानेन्द्र सुवेदी चिन्तित छन्। स्थानीय तह निर्वाचनपछि विवादरहित ढंगबाट अघि बढिरहेको नगरपालिका पाण्डेको प्रवेशसँगै पहिलो पटक यति ठूलो विवादमा मुछिएको हो। मेयर सुवेदी छानबिन र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्नेमा ढुक्क छन्।

अख्तियारले अनुसन्धान थालेपछि पाण्डेले बाख्रा आयात र कृषि फार्ममा आफ्नो संलग्नता नभएको दावी गर्दै आएका छन्।

नगरपालिकाको नगर कार्यपालिका बैठकले ठेक्का सम्झौता रद्ध गर्दै फार्मलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिसकेको छ। बाख्रा आयातका लागि जम्मा गरिएको ६ लाख २० हजार रुपैयाँ धरौटी जफत गरेर अरु भुक्तानी रोक्दै नगरपालिकाले कार्यपालिका सदस्य विन्दुकला गुरुङको नेतृत्वमा बाख्रा प्रकरणको छानबिन गर्न समिति बनाएको थियो। नगरपालिकाले उप–मेयर ढाकाकुमारी पराजुलीको संयोजकत्वमा जेठ २४ गते छानबिन समिति बनाएको थियो। कार्य व्यस्तताको कारण देखाउँदै समितिको नेतृत्व अस्वीकार गरेकी उनले बेलैमा सचेत भएर नगरपालिकाले ठूलो रकम भ्रष्टाचार हुनबाट बचाएको उल्लेख गरिन्।

छानबिनको नेतृत्व गरिरहेकी गुरुङले भने बाख्रा प्रकरणलाई मिहिन ढंगले बुझ्ने काम भइरहेको जानकारी दिइन्। समितिका प्रवक्ता राजेन्द्र अधिकारीले बाख्रा नगरका ११ वटै वडामा वितरण गरिएका कारण स्थलगत अनुगमन गर्नुपर्ने भएकाले छानबिनमा समय लागिरहेको बताए। ‘बाख्रा सबै वडाका कृषकलाई बाँडिएकाले स्थलगत अनुगमन गरेर वास्तविकता बाहिर ल्याउन लागिपरेका छौँ,’ उनले भने, ‘छानबिनमा देखिएका सबै प्रतिवेदनमा समेटिने छ।’

नगर प्रवक्ता योगेन्द्र सुवेदीले भने समितिले प्रतिवेदन बुझाएपछि कारबाहीको थप प्रक्रिया अघि बढ्ने बताए। गलत गर्नेमाथि कारबाही हुनपर्छ भन्ने पक्षमा आफू रहेकाले कोही कसैलाई जोगाउन नलागेको उनको दाबी छ। प्रवक्ता सुवेदीले नगरपालिका र सप्लायर्ससँग असम्बन्धित रहेका पाण्डे बाख्रा वितरणमा कसरी जोडिए भन्ने स्पष्ट जवाफ दिन सकेनन्।

बाख्रा पाएका बेलबारी–३ का लीलाप्रसाद आचार्यले कृषकलाई ठग्नेमाथि कारबाही हुनपर्ने बताए। अस्ट्रेलियाको बाख्रा भन्दै गलत बाख्रा बाँडेर कृषकका लागि राज्यले छुट्याइएको रकममा ब्रह्मलुट मच्चाउन खोज्नेलाई उन्मुक्ति दिन नहुनेमा आचार्यको जोड छ। ठेकेदारले ठगी गरेर किसानमाथि ठूलो अन्याय गरे पनि नगरको ठूलो रकम भ्रष्टाचार हुनबाट जोगिएर कृषकले पनि ठगिएछौँभन्ने थाहा पाएको उनले बताए।

गौतम कृषि फार्मका सञ्चालक उत्तम गौतमले अस्ट्रेलियाबाट भन्दै नेपालकै क्रस बोका–पाठी ल्याएर वितरण गरी कृषकलाई ठग्ने काम भएको बताए।

पाण्डेले अस्ट्रेलियाबाट ल्याउँदा बाख्रा क्वारेन्टाइनमा राखेको भन्दै नक्कली कागजपत्र तयार पारेर बेलबारी नगरपालिकाका पशु शाखा प्रमुख बाबुराम बस्नेतलाई बुझाएका थिए। बाख्रासँगै पाण्डे आफैले पशु चिकित्सकको रिपोर्ट र क्वारेन्टाइन सम्बन्धीको नक्कली कागजात बुझाएको पाइएको छ। अस्ट्रेलियाबाट बोयर बाख्रा आयातका लागि नगरपालिका र सप्लायर्सबीच गत जेठ ३ गते एक करोड २४ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौताविपरीत पश्चिम नेपालको नवलपरासी र आसपासका स्थानबाट संकलन गरेर ९२ वटा बाख्रा ल्याएर जेठ १५ गते वितरण गर्दै पाण्डेले सिंगो नगरपालिकालाई नै विवादित बनाएका छन्। सम्झौतामा फार्मका तर्फबाट हस्ताक्षर गरेका गोविन्द राय बाख्रा आयातको विषय आफूलाई केही जानकारी नभएको बताउँछन्।

बाख्रा अस्ट्रेलियन बोयर नभएको पत्ता लागेपछि बद्मासी गरेका पाण्डेले आफू जोगिनलाई यो प्रकरणमा आफ्नो संलग्नता नरहेको देखाउँदै दोष सप्लायर्सको थाप्लोमा हालिरहेको स्रोतले बतायो। फार्मको कागजात प्रयोग गरेर पाण्डेले नै बाख्रा आयातदेखि वितरणसम्ममा लगानी गरेको जानकारी सप्लायर्सले नगरपालिकालाई दिइसकेको छ। लगभग २४ लाख रुपैयाँजति खर्च गरेर बाख्रा ल्याउँदै एक करोड रुपैयाँ झ्वाम बनाउन खोजिएका बेला बाख्रा अस्ट्रेलियाको र ‘पियोर’ बोयर नभएको खुलेको हो।

अष्ट्रेलियाबाट भारतको लखनउ हुँदै सुनौली भन्सारबाट बाख्रा आयात गरेको दाबी उनको थियो। बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले भन्सारमा बुझ्दा बाख्रा आयात भएको नदेखिएको र बाख्रा पनि शुद्ध बोयर नभएको पाइएको बताए। वितरण गरिसकेपछि विरोध हुँदा मात्रै शुद्ध बोयर नभएको पाइएको उनको भनाइ छ।

गलत बाख्रा वितरण गरेको पाइएपछि नगरपालिकाले आधिकारिक कागजातसहित उपस्थित हुन निर्देशन दिएर कारबाही अघि बढाउँदै सप्लायर्सलाई स्पष्टिकरण सोधेको थियो। सप्लायर्सले बाख्रा आयात सम्बन्धी सम्पूर्ण आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिएर पाण्डेलाई प्रतिनिधिका रूपमा खटाइएको जानकारी ग्रो अर्गेनिक एग्रिकल्चर प्रा.लि (कृषि फार्म)को लेटर प्याडमार्फत गत जेठ २३ गते नगरपालिकालाई लिखित रूपमा दिएको थियो। खरिद र आयात तथा वितरण सम्बन्धी सबै प्रक्रियामा पाण्डे सहभागी भएको सप्लायर्सको स्पष्टोक्ति छ। – अन्नपुर्णपोस्ट

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments