किसानको समस्या :कागतीले मूल्य नपाउदा बोटमै कुहिन थाले

उदयपुर : उदयपुरको ग्रामीण क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको कागती (डल्ले कागती) खेतीले मूल्य नपाएपछि बोटमै कुहिन थालेको छ। सिजनमा गोटाको पाँच रुपैयाँसम्म पर्ने कागती दुई रुपैयाँमा पनि बिक्री नभएपछि किसानले बारीमै छोडेका हुन्। टिप्नसमेत ज्याला र समयको खर्च हुने भएपछि किसानले बारीमै छोड्दा कागती कुहिन थालेको हो।

१० वर्षदेखि व्यावसायिक रूपमा कागती खेती गर्दै आएका रौतामाई गाउँपालिका–८ डिल्लीवरका रुद्रबहादुर रिखाम भन्छन्, ‘मूल्य पाउने आशले सदरमुकाम गाईघाट छोडेर काठमाडौंको कालीमाटी पुर्‍याए अन्ततः नुनको मूल्यमा छोडेर आउनु पर्‍यो।’

प्रतिगोटा कागती ३ देखि ५ रुपैयाँमा यसअघि बिक्री गर्दै आएका रिखामले भने, ‘त्यसरी नै बिक्री होला भन्ने लागेर काठमाडौं लगेँ। त्यहाँ त झन् ३० रुपैयाँ केजीले छोडेर आउनु पर्‍यो।’ गाडी रिजर्भ गरेर लगेको ३० हजार दाना कागतीले भाँडा र आफ्नो सामान्य खर्च मात्र पुगेको उनले बताए।

नुनको मूल्यमा बिक्री भएपछि उनले बारीमा रहेका अन्य कागती नटिपी छोडेका छन्। ‘आखिर जहाँ लगे पनि मूल्य उस्तै रहेछ’, उनले भने, ‘टिप्ने ज्याला र मेहनत खर्च गर्नुभन्दा बारीमै कुहेर बसेको राम्रो।’ झन्डै २० रोपनी जग्गामा कागती खेती गरेका उनले अझै ५० हजार दाना बारीमै रहेको बताए।

त्यसो त रिखामको मात्र होइन, छिमेकी ज्ञानेन्द्र पुलामीको पनि उस्तै दुःखेसो छ। पुलामी भन्छन्, ‘किसानलाई जसो गर्दा पनि हुँदो रहेछ। यति मेहनत र परिश्रम गरेर कागती खेती गर्‍यौं, प्रतिफल लिने बेला शून्य भयो।’ बजारमा भारतीय कागती सस्तो मूल्यमा अधिक भित्रिएकाले नेपालको कागतीले मूल्य नपाएको उनको गुनासो छ।

झन्डै ५० हजार दाना कागती बारीमा रहेको बताउँदै उनी भन्छन्, ‘सरकारको नीति कृषकलाई प्रोत्साहन गर्ने, वैदेशिक रोजगारमा रहेका युवालाई गाउँ फर्काउने र रोजगारमा लगाउने छ। तर उत्पादन गरेका बस्तुको बजारीकरण नहुँदा किसान बेरोजगार र पुनः विदेश जाने परिस्थिति सिर्जना भएको छ।’

रिखाम र पुलामीको मात्र होइन, व्यावसायिक रूपमा कागती खेती गर्दै आएका त्यस क्षेत्रका एक दर्जन किसानको समस्या उस्तै छ। वैदेशिक रोजगार र नेपालकै अन्यत्र ठाउँमा रोजगार गर्दै आएका युवा गाउँमै कृषि खेती गर्न फर्किए पनि परिणाम सकारात्मक नआएपछि निराश रहेका स्थानीय युवा ललित मगर बताउँछन्।

कागती खेतीको उद्गम थलोको रूपमा रहेको उदयपुरको रौतामाई गाउँपालिका–८ डिल्लीवर, जरंगे र पाँवु क्षेत्रमा २० लाख दाना बढी कागती हुने गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ। किसानलाई कागती खेतीमा प्रोत्साहन गर्ने गाउँपालिकाको कार्यक्रम भए पनि बिक्रीका लागि अलग्गै नीति नबन्दा आफूहरू मर्कामा परेको उनी बताउँछन्।

गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का भन्छन्, ‘अहिलेसम्म बिक्रीको समस्या थिएन। सधैं राम्रो मूल्य पाएका थिए, यो पटक समस्या आयो। यसको समाधानका लागि हामी गम्भीर छौं र चाँडै निकास निकाल्छौं।’ भन्छन्, ‘उनीहरूलाई कागती खेतीमा वितृष्णाभन्दा पनि थप प्रोत्साहन पुग्ने गरी कार्यक्रम अघि सार्छौं।’ अन्नपुर्ण पोस्टमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?