चिसो बढेसँगै जाडो छल्न बेँशी झार्दै भेडीगोठ

भेडी गोठ

बझाङ: चिसोबढेसँगै बझाङका भेडापालक जाडो छल्न बेँशी झर्न थालेका छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँशीतर्फ झार्न थालिएको हो। बझाङको साइपाल, सुर्मा, छविसपाथीभेरा र तल्कोट गाउँपालिका तथा बुङ्गल नगरपालिकाका भेडापालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिँउदमा बेँशी झर्ने गर्दछन् ।

चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मङ्सिरमै बेँशीतिर झर्न थालेका हुन्। बुङ्गल नगरपालिका– २ लौनेका किशोर धामीले आफ्ना डेढसय भेडा लिएर जाडो छल्न बेँशी झरेको बताए। भेडा चराउने गरेको हिमाली पाटनमा चिसो बढ्न थालेपछि सँगै गएका अन्य भेडापालक बेँशी झरेको उनको भनाइ थियो ।

धामीसँगै सोही गाउँका नरबहादुर धामी, जय धामी, हर्क धामीलगायतले छ महिना धौलाढुङगा, चुफी, जलजला र रेलागाडका पाटनमा बिताएको बताए। उनीहरु ८००भन्दा बढी भेडाबाख्रा लिएर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए। वर्षौदेखि पाटनमा भेडा चराउने गर्दै आएका उनीहरुले यसबर्ष चिसो निक्कै बढेको बताए। चिसो बढेसँगै भेडा मर्नथालेपछि यसपाली छिट्टै भेडालाई बेँशी झारिएको हो ।

चिसो बढेसँगै भेडाले बेँशीतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक जय धामीले बताए। उनले भने, “गर्मी बढेपछि बेँशीबाट लेकतिर जान खोज्छन् भने लेकमा जाडो बढेपछि बेँशीतर्फ झर्छन्। उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहदैनन् र बढी गर्मी पनि मन पराउँदैनन्। सोही अनुसार हामीले पनि गोठ सार्ने गर्नुपर्छ ।”

कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेँसीतिर झर्ने गरेको जयको भनाइ थियो। यता छविसपाथीभेरा गाउँपालिकाका शुक्र बोहरा पनि ३०० भेडाको बथानसहित आफ्नै गाउँ बुडखोरी झरेका छन्। टकरमाली, रिखैन, मटामेला, खार, जामनाडाँडालगायत क्षेत्रमा महिनौं दिन बिताएका उनी जाडो बढेसँगै भेडीगोठ लिएर बेँशी झरेका हुन्। बोहराले भने, “जाडोयामका केही समय लेकाली क्षेत्रमा टम्म हिउँ पर्छ। भेडापालक घुमन्ते शैलीमा हिमाली क्षेत्रमा हिउँ पर्न थालेसँगै बेँशी झर्ने र गर्मी बढेसँगै हिमाली भेगतिर जाने गर्दछन् ।”

फागुन अन्तिमसम्म बेँशीमै रहने र गर्मी बढेसँगै चैत महिनामा लेकतिर जाने बोहराको भनाइ थियो। चर्को गर्मी र ज्यादै चिसो सहन नसक्ने भेडालाई अहिले जाडोबाट बचाउनकै लागि बेँशी झार्न थालिएको समेत उनले बताए। वर्षभरि लेकबेँशी गरेर भेडापालन व्यवसायमा लागिरहेकालाई हिँउदको समयमा भने सास्ती हुने गरेको छ। चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि बेँशी झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकले गुनासो गरे ।

छविसपाथिभेरा गाउँपालिकाका हर्क धामीले भने, “व्यवसायी सामुदायिक वनको नाममा स्थानीयवासीले अनावश्यक दुःख दिन थालेकाले परम्परादेखि गर्दै आएको व्यवसाय सङ्कटमा पर्न लाग्या छ। पहिलेदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयवासीले वन संरक्षण गर्ने भन्दै चरिचरन गर्न नदिएपछि बेँशी झार्दा भेडा चराउन समस्या हुने हो। सामुदायिक वनमा भेडा चराएबापत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ। बिरानो ठाउँमा भेडाबाख्रा चराउदा राति बास बसेको ठाउँमा ढुङ्गा हान्ने, मदिरा खाएका समूह आएर दुःख दिने गर्छन् । ”

केही वर्ष अघिसम्म यहाँका अधिकांश मानिसको मुख्य पेशा नै भेडापालन थियो। अहिले यो पेशाप्रतिको आकर्षण क्रमिक रूपमा घट्दै गएको छ। चरन क्षेत्रको अभावले र पछिल्ला पुस्ताका युवाको वैदेशिक रोजगारको मोहका कारण पनि यो पेसा सङ्कटमा परेको उनको भनाइ थियो। सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले भने समुदायले संरक्षण गरेको वनमा हुलका हुल भेडाच्याङ्ग्रा चराउदा विनाश गर्न थालेकाले अधिकांश ठाँउका सामुदायिक वनमा चरिचरनमा रोक लगाउनु परेको जनाए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?