कुखुरामा लाग्ने प्रमुख रोग,लक्षण र रोकथामका उपायहरू– जानिराखौं

काठमाडौं : नेपालका अधिकांश मानिसहरुको जिविकोपार्जनका लागि मुख्य पेशा कृषि र पशुपालन रहंदै आएको छ । यसमा पनि विशेष गरी ग्रामिण भूभागमा बस्ने मानिसहरुले परापूर्वकालदेखि नै कुखुरा पाल्दै आइरहेको देखिन्छ । हालको अवस्थामा खास गरी हाम्रो गाउँघरका ८० प्रतिशतभन्दा बढी घर परीवारले लोकल कुखुरा पाल्दै आएको देखिन्छ । आज कुखुरामा लाग्ने प्रमुख रोगहरु बारेमा जानकारी गराउदै छौ ।

रानीखेत रोग

लक्षणहरु :

• रानीखेत रोगले श्वासप्रणाली र स्नायु प्रणाली प्रभावित भई कुखुराले स्वास फेर्न कठिनाई महशुस गर्दछ ।

• चुच्चो र नाकबाट पानि जस्तो बाक्लो पदार्थ निस्किन्छ ।

• कुखुरा टाउको झट्काउने र घाँटी तान्ने गर्दछ ।

• एकै ठाउँमा फनफनी घुम्ने, पछाडि हिँड्ने, घाँटी बटार्ने हुन्छ ।

• फुल पार्न कम हुन्छ ।

• हरियो रङको निकै गन्हाउने पातलो दिशा गर्ने ।

• सिउर र लोति निलो रङमा बदलिने गर्दछ ।

रोकथामका उपायहरू

• कुखुरा पालिने खोर वरिपरि सफा गर्नुपर्दछ । तालिका अनुसार खोप लगाउनु पर्दछ ।

• बाहिरी कुखुरा र अरु चराहरु कुखुरा पालन क्षेत्रभित्र आउन दिनुहुदैन । यो रोगबाट मरेका कुखुरालाई चुना राखि पुर्नु पर्दछ ।

• भाँडा, उपकरण इत्यादि सामान संक्रमण मुक्त राख्नुपर्दछ । चल्लाहरु लाई पहिलो हप्ताभित्रै एफ स्टेन भ्याक्सिन लगाईदिनु पर्दछ र चल्लाको उमेर १० देखि १२ हप्ता पुग्दा आए.टु.बि (R2B) खोप लगाउनु पर्दछ ।

कक्सिडियोसिस (Coccidiosis)

लक्षणहरु :

• बाहिरी लक्षणहरु धेरैजसो प्वाँख खर्सो हुने, रगतको कमि हुने, दिसामा रगत छेर्ने हुन्छ ।

• सिकल कक्सिडियोसिस मा मृत्युदर ५०प्रतिशत सम्म हुन्छ । आन्द्रामा हुने कक्सिडियोसिसमा शरीर पहेँलो हुने तथा छेर्ने हुन्छ ।

• दिशामा रगत मिसिएको हुन सक्छ र मृतदर भने ८ देखि १० प्रतिशत सम्म हुन्छ ।

रोकथाम र नियन्त्रण

• चिस्यान भएको खोर, सित्तर र दाना यसका लागि उपयुक्त वातावरण हुने हुँदा बस्ने ठाउँ र दाना सुख्खा हुनुपर्छ ।

• खास गरेर बर्षातको मौसममा बिशेष ध्यान दिनुपर्दछ जुन बेला वातावरण चिस्यान बढी हुन्छ र तापक्रम पनि कक्सिडियाको बिकासको लागि अनुकूल हुन्छ ।

• यदि सोत्तरमा चिस्यान छ भने ५ देखि ७ किलोग्राम सम्म चुन प्रती १०० बर्ग फिटको क्षेत्रमा छर्नुपर्दछ ।

• यसले चिस्यान कम गरि ताप उत्पन्न गर्दछ जसले प्रोटोजुवा मर्दछ ।

गम्बोरो रोग ( Gumboro/Infectious bursal disease )

लक्षणहरु :

• रोग लागेपछि सुरुमा बिस्तारै झोक्राउँदै जाने, प्वाँख गुजमुजिएर बस्ने जस्ता लक्षण देखापर्दछ ।

• टाउको र घाँटी कपाउने र पछि सम्पुर्ण शरीर नै काम्न थाल्छ । यसका साथै ज्वरो आउने, आँखाबाट पानी बग्ने हुन्छ । यस्तो अवस्थामा घाँटी तन्काउने र टाउको केही तल झुकाएर बस्छ । सेतो रङको छेर्ने र मलद्रार वरिपरि सुलि टाँसिएको देख्न सकिन्छ । पुरानो रोगमा बिस्तारै झोक्राउने र दुब्लाउदै जाने हुन्छ ।

रोकथाम र नियन्त्रण

• सरसफाइको विशेष ब्यबस्थापन हुनुपर्दछ । कुखुरालाई गम्बोरो रोग बिरुद्द भ्याक्सिन लगाउनु पर्दछ । दानापानी दिने भाँडाकुँडालाई किटाणुरहित बनाउनु पर्दछ ।

कोलिबेसिलोसिस

• यो रोग जुनसुकै उमेरका कुखुराहरु मा देखिन सक्छ । यो रोग ब्यबस्थापनमा कमिको कारणले हुने भएकाले ब्यबस्थापनमा सुधार गर्नुपर्दछ ।

लक्षणहरु :

• दाना खान कम गर्ने र कहिलेकाहीँ स्वास फेर्न कठिनाई हुने ।

• उदासिन हुने, सिउर फिक्का हुने ।

• हरियो वा सेतो पातलो सुलि छेर्ने ।

• मलद्रारको वरिपरि सुलि लतपतिने ।

उपचार :
• प्राबिधिकको सिफारिसमा एन्टिबायोटिक औषधिहरु खुवाउने ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments