भेडापालनबाट मनग्य आम्दानी

भोजपुर:व्यावसायिक भेडापालनबाट भोजपुरका किसानले राम्रो आम्दानी लिन थालेका छन् । बजारमा भेडाको घ्यू तथा मासुको माग बढेपछि किसानले राम्रो आम्दानी लिएका छन् ।

युवा विदेशबाट फर्केर व्यावसायिक भेडापालन गर्न थालेका छन् । पछिल्लो समय भेडाको मासुुसँगै ध्यू, तथा ऊनबाट बन्ने सामग्रीको माग राम्रो छ । भेडापालक कृषकले भेडाको ऊन, घ्यू, महि, छुर्पीलगायत बिक्रीबाट आम्दानी लिन्छन् । ऊनबाट बन्ने राडी, पाखी, लुकुनीलगायत किसानको आम्दानीको स्रोत बनेको छ । एक कृषकले यो व्यवसायबाट बार्षिक पाँचदेखि नौ लाखसम्म आम्दानी लिने गरेको भेडापालक कृषक गोविन्द बस्नेतले जानकारी दिनुभयो । ‘‘ भेडापालनबाट राम्रो आम्दानी लिन सकिन्छ’’, किसान बस्नेतले भन्नुभयो, ‘‘यहाँ उत्पादन भएको सामग्री देशका विभिन्न ठाउँबाट माग हुन्छ । बजारको माग धान्न समस्या छ ।’’

औषधिको रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले घ्यूको माग धेरै रहेको कृषक शेरबहादुर कठेतले बताउनुभयो । घ्यू डढेको घाउ खत हटाउन राम्रो मानिन्छ । घ्यू प्रतिकिलो रु चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुन्छ । ऊन प्रति केजी सात सय र मासु प्रति धार्नी एक हजार पाँच सयदेखि दुई हजारसम्म पर्छ । कठेतले भन्नुभयो, ‘‘घ्यूको माग धेरै छ । माग अनुसारको घ्यू पु¥याउन समस्या छ । धैरै पौष्टिक हुने भएकोले अन्य विभिन्न रोगको लागि पनि उपयोगी मानिन्छ । भेडाको बल्याक्ख्रा (बोका) को पनि माग धेरै छ । यसको मासु निकै स्वादिष्ट मानिन्छ ।’’

यहाँ एक कृषकसँग एक सय ५० वटासम्म भेडा रहेको छ । धेरै भेडा हुनेले वर्षमा रु आठदेखि नौ लाखसम्म आम्दानी लिने कठेतको भनाइ छ । कठेतले भन्नुभयो, ‘‘दुःख धेरै छ । तर भेडा राम्ररी फस्टाए भने आम्दानी राम्रो छ । एक सय ५० देखि दुई सयसम्म हुँदा पाल्दा वर्षमा आठदेखी नौ लाखसम्म आम्दानी लिन सकिन्छ ।’’

घ्यू, राडी, पाखी, लुकुनीलगायत बस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडाँैलगायत ठाउँमा जान्छ । पछिल्लो समय युवा पुस्ता भेडापालनमा आकर्षित भएको कठेतको भनाइ छ । विदेश गएर आएका युवाले व्यावसायिक भेडापालन गरिरहेका छन् । ‘‘युवा पुस्तामा भेडापालनप्रति आकर्षण छ’’, कठेतले भन्नुभयो, ‘‘गाउँका कतिपय युवा विदेशमा कमाइ गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।’’

मैयुङ क्षेत्रमा २८ बढी कृषकले व्यावसायिक भेडापालन गरेका छन् । अहिले भेडा तल्लो भेगमा झारिएको छ । यसबाट हिउँद भन्दा तातो मौसममा बढी आम्दानी लिन सकिन्छ । हिउँदमा भेडालाई चरण क्षेत्रको अभाव हुने हुँदा आम्दानी अलि कम हुन्छ । भेडा वर्षातमा माथिल्लो र हिउँद समयमा तल्लो भेगमा झार्ने चलन छ । तल्लो भेगमा झारेपछि हावापानीका कारण भेडा बिरामी हुने, मर्ने समस्या रहेको भेडापालक भक्तकुमार राईले जानकारी दिनुभयो । धेरै दुःखको काम भएकाले यस्तो पेशामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनु पर्ने राईको भनाइ छ ।

‘‘हामीले उधौली झारेपछि धेरै भेडा बिरामी हुन्छन्’’, कृषक राईले भन्नुभयो, ‘‘कतिपय मर्छन् । यस्तो अवस्थामा उपचारको व्यवस्थाको लागि राज्यले सहयोग गरे हुने । धेरै दुःख कष्टका साथ पुख्र्यौली पेशा धानेका छौँ । तर राज्यको ध्यान हामीमा गएको छैन ।’’

भेडा बिरामी हुँदा औषधि लिन टेम्केमेयुङ गाउँपालिका तथा सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ । राज्यले किसानको पशु बीमा गरिदिए सहज हुने र किसानलाई थप लाभ पुग्ने उहाँको भनाइ छ । आम्दानी हुने भए पनि भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको नुर्वु शेर्पाले बताउनुभयो । भेडापालनको मुख्य समस्या चरण क्षेत्र अभाव रहेको उहाँको भनाइ छ । त्यस्तै बाघ,भालु तथा कुकुरले पनि भेडा मारी दिन्छ । भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खाने लगाएतका रोगले धेरै दुःख दिदै आएको छ ।

‘‘भेडापालनमा धेरै समस्या छ’’ कृषक शेर्पाले भन्नुभयो, ‘‘पहिलो समस्या चरण क्षेत्रको हो । सामुदायिक वनले महँगो शुल्क लिन्छन् । एउटा वन क्षेत्रमा चराए वापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ । रोग तथा वन्यजन्तुको आक्रमणले पनि क्षति पुग्छ ।’’ चरण क्षेत्र भएका मैयुङ, टेम्के डाँडा, चखेवालगायत क्षेत्र भेडापालनलाई उपयुक्त स्थान मानिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments