बिक्न छाडे काम्लो, बख्खु र घुम

ढोरपाटन:बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरुले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी क्षेत्र पशुपालनका लागि उर्वर छन् । अहिले युवापुस्ता सहर केन्द्रित हुँदा र रोजगारीका लागि विदेश रोज्न थालेपछि भेडापालन सङ्कटमा पर्ने चिन्ता छ । वर्षांै पहिलेदेखि पुस्ता हस्तान्तरण हुँदै आएको भेडापालन अहिले केही सुस्ताएको छ ।

माथिल्लो खर्कमा पुग्दा सेताम्य भेडाका बथान भेटिन्छन् । भेडापालन गर्ने अधिकांश बुढापाका छन् । कृषकले मासुका लागि भेडा मात्रै बेच्दैनन् भेडाको रौँबाट बनेका कपडा पनि बेच्छन् । भेडाको रौँबाट बनेको हापदुला, काम्लो, बख्खु, घुमलगायत कपडा पानी तार्ने, हिउँमा जाडो छेक्ने तथा गर्मीमा घाम छेक्न उपयोगी मान्छिनन् ।

आधुनिक प्रविधिसँगै विभिन्न प्रकारका कपडा भित्रिन थालेपछि स्थानीय उत्पादनले बजार पाउन छोडेको छ । कुनैबेला भेडा र रौँका कपडा बेचेर राम्रो आम्दानी गर्ने भेडापालक अहिले मासुका लागि मात्रै भेडा पाल्नुपर्ने स्थितिमा छन् । मासु गाउँमै बिक्री भए पनि ऊनका कपडा देशमा मात्रै नभएर विदेश पनि निर्यात हुने गर्दथ्यो । ऊनको कपडा बनाउन धेरै झन्झटिलो र समय पनि धेरै लाग्ने हुँदा पछिल्लो समय उत्पादनमा कमी हुन थालेको निसीखोलाका पुनराम बुढामगरले बताउनुभयो । यस्ता कपडाको मुल्य अन्य कपडाभन्दा महँगो पर्ने भएकाले स्थानीयको रोजाइमा कम पर्ने गर्छ ।

बुढामगरले भन्नुभयो, “पहिले भेडा पालेर राम्रो कमाई हुन्थ्यो, वर्षमा एक डेढ लाखको त घुम, काम्लो नै बिक्री हुन्थ्यो । भेडा पूजाआजा र चाडपर्वमा धेरै बेच्थे, अहिले त उही भेडा मात्रै हो, त्यही पनि बुढो भइयो पहिलेको जस्तो पाँच सय÷एक हजार पाल्न सकिन्न । माथि लेकलेकमा पुग्नुपर्छ, भेडाको ऊन निकाल्नु पर्छ, कपडा बुन्न धेरै समय लाग्छ ।”

स्थानीय ७३ वर्षीया तिलु घर्तीले सानैदेखि भेडापालनमा लागेको र कपडा बनाउने गरेको सुनाउनुभयो । उतिबेला अहिलेको जस्तो ओढ्ने, बिछ्याउने सिरक, डसना नहुने भन्दै भेडाको ऊनबाट बनेको कपडा प्रयोग गरेको उहाँले सम्झनुभयो । कपडा लिन बुटवल, तानसेन पुग्न समस्या हुने गथ्र्यो ।

“अहिले लेकमा पनि बाहिरबाट आएका कपडा छन्, पहिलेको जस्तो दुःख छैन, जमाना फेरियो, ऊनको कपडाले घोच्छ रे, लगाउँदैनन्, हामीहरु त्यही लगाएर हुर्कियौँ”, उहाँले भन्नुभयो, “चप्पल सानोमा लगाएनौँ, हामी ठूलै भएपछि मात्रै लगाएका हौँ, अहिले घुम, काम्लो बुन्ने मान्छे भए, बुनेकाले बिक्री नभएको गुनासो गर्छन्, मैले सानै हुँदा बुन्न सिकेको थिए, अहिले अलिअलि त बुन्छु, पहिलेको जस्तो सकिँदैन ।”

स्थानीय पविन्द्र घर्तीमगरले नयाँपुस्ताले सीप नसिक्दा परम्परागत कपडा हराउन थालेको बताउनुभयो । उहाँले केही वर्ष अगाडिसम्म विदेशबाट पनि बढी माग हुने गरेको सुनाउँदै अहिले घटेको बताउनुभयो । “पहिले एक परिवारले कम्तीमा एक हजार भेडा पाल्थे । तर अहिले निकै कम भयो”, उहाँले भन्नुभयो । घर्तीले भेडापालनलाई स्थानीय सरकारले प्रवद्र्धन गर्नसके राम्रो आम्दानीको स्रोत बन्ने बताउनुभयो । ऊनका कपडाले युवापुस्ताले मन नपराउँदा बजार पाउन मुस्किल परेको उनीहरुको गुनासो छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?