भेडापालनमा तमानखोलाका युवा

गलकोट:बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलाका २५ वर्षीय युवा सिजन छन्त्याल भेडापालनमा हुनुहुन्छ । युवा जोस तथा उत्सुकताको उमेरमा उहाँको सन्तुष्टि भने भेडापालमा भेटिएको छ ।

अहिलेका युवामा वैदेशिक रोजगारीको मोह बढिरहेको सन्दर्भमा सिजनलाई भने भेडीगोठले तानिरहेको छ । बुबा र बाजेले गर्दै आएको भेडापालनलाई आफूले निरन्तरता दिने निर्णयका साथ भेडापालनमा होमिएको उहाँको भनाइ छ ।

भेडापालनलाई व्यावसायिक बनाउनसके विदेशको कमाई आफ्नै गाउँठाउँमा गर्न सकिने भन्दै भेडापालनमा होमिएको उहाँ बताउनुहुन्छ । सिजन अहिले आफ्नो गाउँ लाम्मेला हुँदै भेडा चराउनका लागि सोलेडाँडा पुग्नुभएको छ । उहाँले पाल्नुभएका एक सय पाँच भेडा अब भदौमा मात्रै घर फर्कंनेछन् ।

“बाबा भक्तिप्रसाद छन्त्यालको प्रेरणाले भेडापालनमा लागे, सानैमा भेडीगोठमा नै बढी आनन्द मानियो, साथीभाइ राहदानी बनाएर विदेश हानिए, भेडापालनमा समेत राम्रो सम्भावना देखेर आफू भने भेडीगोठमा लागेको हुँ”, युवा भेडापालक किसान सिजनले भन्नुभयो, “कम्तीमा दुई सय भेडा पाल्न सके खाडी मुलुकमा जति कमाउन सकिने रहेछ, रोगव्याधी र जङ्गली जनवारले नसताएमा अब मङ्सिरमा घर आउँदा भेडा झण्डै एक सय ४० भन्दामाथि पुग्नेछन् ।”

एक वर्षमा ४० देखि ५० भेडा, साँढ तथा पाठी बिक्री गर्नेगरी भेडापालनलाई व्यवस्थित गर्दै आएको उहाँको भनाइ छ । रोज्जा साँढको मूल्य रु ३५ हजारसम्म पर्ने गरेको उहाँले बताउनुभयो । सरदर रु १० हजारदेखि ३५ हजारसम्म साँढ, भेडा र पाठीको मूल्य पर्दछ । भेडापालनबाटै वार्षिक रु छ लाख आम्दानी गर्दै आएको उहाँको भनाइ छ ।

“भेडापालन एक कष्टकर पेसा हो, घरमै बसेर भेडापालन हुँदैन, जङ्गलमा अस्थायी गोठ बनाएर भेडापालन गर्दै बस्नुपर्दछ”, उहाँले भन्नुभयो, “वार्षिक सरदरमा रु छ लाख आम्दानी हुन्छ, जङ्गली जनवारको आक्रमणमा नपरे अझ धेरै हुनसक्छ, नेपालमै बसेर भेडापालन गर्ने सोच बनाएको छु, साथीभाइ विदेशिए भनेर म विदेश जान्न ।”

उहाँले भेडा चराउनका लागि वैशाखमा सोलेडाँडा, फागुन र चैत जम्दारखोर, पुस र माघ सोलेडाँडा, असोज र कात्तिक बैलीको धुरी र असारदेखि भदौसम्म बुकीमा भेडा चराउन लैजाने गरेको बताउनुभयो । वर्षमा मङ्सिर महिना मात्रै भेडालाई घरमा राख्ने गरेको सिजनको भनाइ छ ।

परम्परागत भेडापालनमा पछिल्लो समय युवाको आकर्षण देखिएको हो । पुर्खादेखिको पेसा धान्दै भेडापालनलाई व्यावसायिक बनाउँदै यहाँका केही युवा भेडापालनमा आकर्षित भएका हुन् । सिजनसँगै भेडापालन अर्का युवा तारानाथ सिर्पाली पनि सक्रिय हुनुहुन्छ ।

तारानाथका अहिले २५ मात्रै भेडा छन् । उहाँले यस वर्ष भेडाको सङ्ख्या बढाउने बताउनुभयो । पुस्तान्तरणको अभावमा कतिपय पेसा लोप हुने अवस्थामा पुगे पनि भेडा पाल्ने पेसामा हाम्रो तमानखोलामा पुस्तान्तरण भएको भेडापालक किसान तारानाथको भनाइ छ ।

उहाँले गाउँपालिकाले युवा भेडापालक किसानलाई भेडीगोठमा आवश्यक त्रिपाल, सोलार र टर्चलाइट वितरण गरेको बताउनुभयो । खोर सुधारका लागिसमेत पालिकाले समयसमयमा अनुदान दिने गरेको उहाँको भनाइ छ । “गाउँपालिकाले भेडापालन किसानलाई त्रिपाल, सोलार तथा लाइट वितरण गरेको छ, जङ्गलमा गोठ बनाएर बस्दा गाउँपालिकाले दिएको सामाग्रीको निकै महत्व छ”, उहाँले भन्नुभयो, “भेडापालन पेसा निकै कष्टकर भए पनि दुःख गर्नसके राम्रो आम्दानी हुने पेसा हो ।”

पछिल्लो समय भेडापालक किसान पाउनै मुस्किल भएका सन्दर्भमा उक्त गाउँपालिकाका उच्च पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत पशुपालन रहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । गाउँपालिकाले भेडापालक किसानलाई खोर सुधार गर्न, त्रिपाल खरिद गर्न र सोलार खरिदका लागि सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?