ग्रामीण बस्तीबाट बसाइँसराइ गरेर सहर पस्ने क्रम बढ्दै ,हराउँदै अर्मपर्म

गलेश्वर: एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धान, कोदो रोप्दा अर्मपर्म लगाउने परम्परा हिजोआज हराउँदै जान थालेको छ । पर्म लगाउने परम्पराका साथै पर्मका बेला गाइँने पर्मेली गीत पनि लोप हुँदै गएका छन् ।

धान, कोदो रोप्दा र गोडमेल गर्दा गाइँने पर्मेली गीतले कुनैबेला म्याग्दीको ग्रामीण क्षेत्र घन्किथ्यो । गीत गाउँदै असारे झरीमा अर्मपर्म गर्दै काम गर्नुको मज्जै बेग्लै थियो । जिल्लाको मगर बाहुल्यता भएको माथिल्ला बस्तीमा काम गर्दा माइती र घर पक्षका आफन्तलाई बोलाई आलोपालो गरेर काम गर्ने, सम्बन्ध जोड्ने दुई सय वर्ष पुरानो परम्परा हराउँदै गएपछि ग्रामीण संस्कृति पनि नासिँदै गएकामा पाका पुस्ताले चिन्ता व्यक्त गर्न थालेका छन् ।

“पर्म पराम्पराको इतिहास दुई सय वर्ष पुरानो छ”, बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो, “विसं १८७० ताका म्याग्दीका गाउँगाउँमा रहेका मुखियाले आफ्नोआफ्नो खेतमा काम गर्नका लागि गाउँलेलाई उर्दी लगाउँथे । सबै गाउँले मिलेर उनीहरुकामा निःशुल्क काम गरिदिनुपर्दथ्यो । त्यसकै सिको गर्दै गाउँलेहरुले पनि एक अर्काकामा गएर पालैपालो काम गर्न थाले, त्यसैलाई नै ‘पर्म लाउनी’ भन्न थालियो ।”

अर्थ र श्रमसँग प्रत्यक्ष सम्बन्ध रहेको पर्म प्रथा सामाजिक सम्बन्धको मापन भएको मालिका गाउँपालिका–६ का ७३ वर्षीय डिलबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार परम्पराकैरूपमा रहेका कारण पर्म प्रथा ग्रामीण संस्कृतिको एक अङ्ग बनेको थियो । “पर्म प्रथालाई सन्दर्भ बनाएर आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्राज्ञिक अध्ययन भएको पाइँदैन”, उहाँले भन्नुभयो ।

पर्म प्रथालाई सामाजिक अध्ययनको विषय बनाउनु नितान्त आवश्यक रहेको समाजशास्त्रका अध्यापक नवीन घिमिरेले बताउनुभयो । “कसैको खेतमा रोपाइँ गर्नुपर्‍यो वा फसल काट्नुपर्‍यो भने थोरै श्रमले पुग्दैन । यस अवस्थामा एकले अर्काको खेतमा काम गर्न जाने हो । काममा सघाउन आउनेहरू एकभन्दा बढी हुन्छन् र छिटै काम सम्पन्न हुन्छ । सहयोगको बदलामा सहयोग नै गर्न जाने प्रथा नै पर्मका रूपमा बुझिन्छ”, उहाँले भन्नुभयो ।

समय परिवर्तनसँगै ग्रामीण बस्तीबाट बसाइँसराइ गरेर सहर पस्ने क्रम बढ्दै गएपछि गाउँमा खेती लगाउने र अर्मपर्म गर्ने परम्परा घट्दै गएको घिमिरेको भनाइ थियो । युवा शिक्षा तथा रोजगारीका लागि विदेशमा जाने र परिवार सहरतिर झर्ने चलन जिल्लामा व्यापक बढे्काले खेती गर्नेको कमी हुँदा पर्म प्रथा पनि लोप हुँदै गएको उहाँले बताउनुभयो ।

कोदो उत्पादनका लागि प्रसिद्ध मानिएको जिल्लाको मालिका गाउँपालिका–२ रुममा एक दशकअघिसम्म कोदो रोप्दाको रमाइलो बेग्लै हुन्थ्यो । “कोदो रोप्नका लागि जुटेका माइती र चेलीको हुलले असारको तेस्रो सातादेखि साउनको दोस्रो सातासम्म बारी ढाकेको हुन्थ्यो”, स्थानीय तिला विकले भन्नुभयो । बाँसुरी, मादल, बच्छे बाजालगायतका बाजा बजाएर मेलामा पर्मेली गीत गाउँदा कुनै ठूलै चाडको झल्को आउने उहाँले बताउनुभयो ।

विकका अनुसार रुमको केही जग्गामा कोदो रोपाइँ हुने गरे पनि आजभोलि पर्मेली हुल देखिन छाडेका छन् । “पहिला बाजागाजासहित पर्मेली गीत गाउँदै तामझाम गर्दै कोदो रोपाइँ गर्ने चलन थियो”, उहाँले भन्नुभयो, “यहाँ अहिले कोदो रोपाइँ सुरू भए पनि पहिलाजस्तो पर्मेली हुल छैनन् ।” माइती र चेली जुटेर एकअर्कामा पर्म लगाउँदै पर्मेली गीत गाउने रुमको मौलिक विशेषता रहेको उहाँको भनाइ थियो ।

चेलीले कोसेली दिएपछि माइती पर्म लगाउन तयार हुने र माइतीकोसमेत रोपाइँ सकेपछि अन्त्यमा भोज खाएर कोदो रोपाइँ समापन गर्ने चलन यहाँको पुरानो परम्पराका रूपमा मानिन्छ । अहिले बजारमा निस्किएका थरिथरिका आधुनिक गीत/सङ्गीतले नयाँ पुस्तालाई ध्यान खिच्न थालेपछि त्यसको असर पर्मेली गीतमा परेको छ । पर्मेली गीत गाएर कोदो रोप्ने चलनलाई विस्थापित गर्दै अहिले मोबाइलमा गीत बजाएर कोदो रोप्न थालिएको स्थानीय बताउँछन् ।

ग्रामीण क्षेत्रका स्थानीय रोजीरोेटीका लागि बाह्य क्षेत्रमा जानेक्रम बढेसँगै पर्म लगाउने परम्परा प्रभावित भएको यहाँका स्थानीयको भनाइ छ । जिल्लाका रुम, ओखरबोट, हिस्तान, नारच्याङलगायत गाउँमा युवा परिवारसहित सहर तथा सुविधासम्पन्न क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दो छ । पहिला मुख्य चहलपहल हुने यी ठाउँका घर अहिले रित्तिएका छन् ।

रित्तिएका घर रूग्न र जग्गा कमाउनका लागि आसपासका क्षेत्रबाट गाउँमा आउनेले पर्मेली परम्परालाई चासो नदिने रसमाया सिउथानीले बताउनुभयो । गाउँमा अहिले पहिलाको तुलनामा पर्मेली परम्परा हराउन थालिसकेको उहाँको भनाइ थियो । “गाउँभरिका माइती चेली जुटेर एकैदिन मेलो सल्टाउँदा खुब रमाइलो हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले कतैकतै मात्रै अर्मपर्म चलिरहेको छ । अब त यो परम्परा नै मासिने पो हो कि भन्ने चिन्ता छ ।”

पर्मेली परम्परा हराउँदै गएपछि जिल्लामा पर्मेली गीत गाउनेको अभाव हुन थालेको सिउथानीले बताउनुभयो । “उमेर ढल्केकाले मात्रै पर्मेली गीत भाका हालेर गाउन सक्छन् । उनीहरू मेलापातमा पुगेर भाका हाल्न सक्दैनन् । नयाँ पुस्ताले पर्मेली गीत बिर्सिसके”, उहाँले भन्नुभयो ।

किसानलाई खेतीकिसानीमा आकर्षित गराउन र सबै समुदायलाई एकै भावनामा जोड्नका लागि पर्मेली गीत र पर्म लगाउने परम्पराले सहयोग गरेको मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले बताउनुभयो । “संस्कृतिकैरूपमा विकास भएका यस्ता परम्परा जोगाउनका लागि हामी लागिपर्नु आवश्यक भएको छ”, उहाँले भन्नुभयो ।

समाजशास्त्रका अध्यापक घिमिरेका अनुसार पर्म प्रथालाई अधिकांश समाज तथा समुदायले आफ्नो आफ्नो मौलिक परम्पराका रुपमा लिएका छन् । “पर्म प्रथा विस्तारै अन्य समुदायले अपनाएका हुन् । पर्म प्रथा समाजमा रहेको निकै पुरानो सरम्परा हो । यसले एकआपसमा सहयोगको भावना विकास गर्दै समाज विकासमा लाग्न प्ररित गर्छ”, उहाँले भन्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?