बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो
सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए । त्यति बेला यो कुराको मजाक उडाइएको थियो तर आज थुप्रै अनुसन्धानमा बोटबिरुवालाई पनि सङ्गीत मन पर्ने कुरा पुष्टि गरिसकेको छ ।
यिनीहरूले ध्वनि बनाउन सक्छन्, त्यसलाई बुझेर प्रतिक्रिया दिन सक्छन् । विश्व भरी सन् १९६० को दशकदेखि बोटबिरुवा नजिक ध्वनि बजाएर थुप्रै अनुसन्धान भइरहेको छ तर यसको नतिजा पछिल्लो समयमा आउन थालेको छ ।
होहल्लामा बोटबिरुवा बढ्न रोकियो
सन् २०१८ मा प्रकाशित एक अनुसन्धानमा दाबी गरिए अनुसार टेलिग्राफ प्लान्ट (एसियाली पातैपात भएको रुख) लाई ५६ दिनसम्म बौद्ध मन्त्रको सम्पर्कमा राख्दा त्यसमा ठुलठुला पात निस्किन थाले । त्यही बोटलाई पश्चिमी पप सङ्गीत वा एकान्तमा राख्दा पात साना भए । सन् २०२२ को एक अनुसन्धान पत्रमा व्यस्त हाइवेको होहल्लाको सम्पर्कमा आउने मेरिगोल्ड र सेजका बोटबिरुवा बढ्न रोकिएको तथ्य फेला पर्यो ।
सङ्गीतले बिउको अङ्कुरण तीव्र भयो
यसै गरी चीनमा भएको अनुसन्धानले बताए अनुसार ग्रिन हाउस वातावरणमा सङ्गीत बजाउँदा बिउमा छिटो अङ्कुरण भयो, अन्नपातको उत्पादनमा पनि वृद्धि भयो । सन् २०२३ को सुरुवातमा तेल अभिभ विश्वविद्यालयका अनुसन्धानकर्ताले बोटबिरुवाका थुप्रै प्रजातिले विभिन्न तनावको जवाफमा आवाज निकाल्ने बताए । यो आवाज यति सानो हुन्छ कि कोही पनि मानिसले सुन्न सक्दैनन् भनेर पनि जानकारी दिइएको छ ।
झुसिल्किराले पात चपाउँदा निस्कने कम्पन रेकर्ड गरियो
बोटबिरुवा लाखौँ वर्षदेखि बोटबिरुवा ती किराहरू सँगसँगै विकसित भइरहेका छन् जसले यिनीहरूलाई खान्छन् । तर यी बोटबिरुवा किराले निकाल्ने ध्वनि तरङ्गप्रति संवेदनशील हुन सक्छन् ? यसको जवाफ जान्नका लागि ह्युस्टन युनिभर्सिटीमा वनस्पति शास्त्री हेइडी अपेल र मिसौरी युनिभर्सिटीका कीट विज्ञानी रेजिनाल्ड कोक्राफ्टले झुसिल्किराका केही प्रजातिले पात चपाउने बेला निस्कने कम्पन रेकर्ड गरे ।
कम्पन अन्य पातसम्म पुग्न सफल
उनीहरुले आफ्नो अनुसन्धानमा के पत्ता लगाए भने यी कम्पन हावामा ध्वनि तरङ्ग पैदा गर्न सक्ने खालका शक्तिशाली छैनन् तर पातहरू आपसमा जोडिएका छन् भने कम्पन अन्य पातसम्म पुग्न भने सक्षम छन् । यसलाई प्रमाणित गर्नका लागि अनुसन्धानकर्ताले प्रयोगशालामा बोटबिरुवामा झुसिल्किरा छोडे । यसबाट जुन कुरा पत्ता लाग्यो, त्यस अनुसार खुला भएका पातमा ग्लोकोसाइनोलेट्स र एन्थोसायनिन जस्ता रक्षात्मक रसायनको स्तर निकै धेरै थियो । त्यसैले झुसिल्किराले यसलाई खान सकेनन् ।
बोटबिरुवा यस्ता खालका खतराबारे अवगत हुन्छन् र यसबाट बच्न सक्षम पनि हुन्छन् । यो अनुसन्धानको निष्कर्ष सन् २०१४ मा प्रकाशित भएको हो ।