अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती

ढोरपाटन (बागलुङ), १८ असारः पाँच वर्षअघि नै बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो । स्थानीय पालिकाले पनि कृषिमा आधुनिकीकरण गर्ने भन्दै किसानलाई आधुनिक हलो अनुदान दिने लहरनै चलेको थियो । तर पछिल्लो समय किसानले आधुनिक हलो जाति मान्न छोडेका छन् ।

सुरु–सुरुमा आधुनिक हलो पाउनका लागि चासो दिनेहरु अहिले वास्ता गर्न छाडेका छन् । आधुनिक हलोका सट्टा गोरु पाल्न थालेका छन् । ग्रामीण क्षेत्रका भिराला जमिन जोत्न समस्या हुने र गोरुले जोते जस्तो नहुने हुँदा आधुनिक हलोको प्रयोग घट्न थालेको हो । आधुनिक हलोले थोरै समयमा धेरै खेतबारी जोत्न सकिने भए पनि उत्पादनमा ह्रास आएपछि हल गोरु पाल्न थालेको निसीखोला गाउँपालिका–२ का किसान खुमबहादुर कुँवरले बताउनुभयो ।

तराईमा आधुनिक हलो उपयुक्त हुने भए पनि पहाडी क्षेत्रमा प्रभावकारी नभएको उहाँको भनाइ छ । करिब तीन वर्षसम्म आधुनिक हलोले खेतबारी जोतेर बाली लगाउँदै आए पनि उत्पादनमा ह्रास आएपछि हलगोरुनै पाल्न थालेको कुँवर बताउनुहुन्छ ।

आधुनिक हलोले गोरुले जसरी गहिरो हुने गरी नजोत्दा मकैबाली ढल्ने, धानले गतिलो गरी जरा नहाल्दा उत्पादन घटेको उहाँको भनाइ छ । “गाउँमा आधुनिक कृषि प्रणाली अपनाउन थाल्यौँ, मिनिटेल हलो ल्याएर खेतबारी जोत्न काम पनि भयो, तर हाम्रो जस्तो क्षेत्रमा मिनिटेलको प्रभावकारी हुँदो रहेनछ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार बारीमा कहीँ ढुङ्गा, कहीँ गग्रेटा हुन्छन्, तर आधुनिक हलोले गहिरो गरि नजोत्ने रहेछ र गारुले जोत्दा हलो गहिराईसम्म पुग्ने हुँदा बीउ पनि राम्रोसँग उम्रिने र जरा बलियो हुनेरहेछ । “मिनिटेलले माथिमाथिको माटो मात्रै उप्काउने हुँदा उत्पादन घट्यो, मैले हल गोरुले जोत्दा १७÷१८ मुरी धान फलाउथ्याँ, आधुनिक हलोले जोत्दा तीन वर्षसम्म लगातार उत्पादन घट्यो, त्यही भएर अहिले गोरु पालेर जोत्न थालेको छु”, उहाँले सुनाउनुभयो ।

पछिल्लो समय बागलुङका धेरै किसानले हल गोरु पाल्न थालेका छन् । कृषि ज्ञान केन्द्र बागलुङ र स्थानीय तहले अनुदानमा दिने आधुनिक हलोप्रति कम चासो दिएको पाइन्छ ।

जैमिनी नगरपालिका–४ का किसान हर्कबहादुर थापाले आधुनिक हलोभन्दा हलगोरु पाल्दा फाइदा हुने बताउनुभयो । गोरु पाल्दा मल र जोत्नका लागि प्रयोग उहाँको भनाइ छ । करिब चार वर्ष मिनिटेलले बारी जोतेको सुनाउँदै उत्पादन बढाउन नसकेपछि अहिले छोडेर परम्परागत रुपमै हल गोरुले जोत्न थालेको थापा बताउनुहुन्छ । विभिन्न सरकारी सङ्घ संस्थाले आधुनिक हलो अनुदानमा दिए पनि आफूले नलिने उहाँको भनाइ छ । उन्नत जातका बीउ प्रयोग भने बढ्न थालेको थापाले सुनाउनुभयो ।

बागलुङको जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाले हल गोरु पालि व्यावसायिक रुपमा खनजोत गर्ने किसानलाई प्रोत्साहन गर्न अनुदान दिने भएका छन् । बढ्दो यान्त्रिकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि प्रोहोत्सान गर्न किसानलाई अनुदान दिने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

गोरु पाल्ने किसानलाई गाउँपालिकाले अनुदानको व्यवस्था गर्न आगामी वर्षका लागि रु पाँच लाख बजेटसमेत विनियोजन गरेको उहाँको भनाइ छ । प्रविधिको विकाससँगै गोरुले जोत्ने परम्परा हराउन थालेपछि यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिइने अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

कालिका परिसरमा रोपियो ५०१ रुद्राक्ष

प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा ५०१ रुद्राक्षका बिरुवा रोपिएको छ । लुम्बिनी विश्वशान्ति मञ्चको सहयोगमा कालिका मन्दिर परिसरमा रुद्राक्षका बिरुवा रोपिएको हो ।

रुद्राक्ष रोप्नका लागि लुम्बिनी विश्वशान्ति मञ्चले रु १० लाख सहयोग गरेको अध्यक्ष वासु गौतमले जानकारी दिनुभयो । कालिका मन्दिर परिसर रुद्राक्षका उपयुक्त भएको हुँदा बिरुवा लिएर लगाइएको उहाँको भनाइ छ । गौतमले रुद्राक्षले धार्मिक महत्व बोकेको हुँदा कालिका परिसरमा रोपेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कालिका मन्दिरले ठूलो धार्मिक महत्व बोकेको छ, मन्दिरको वरपर प्रसस्त जग्गा रहेको हुँदा यहाँ रुद्राक्ष लगाइएको हो, यसले धार्मिक पर्यटनसँग महत्व राख्ने भएको हुँदा अहिले पाँच सयभन्दा बढी रुद्राक्षका बिरुवा रोपिएको छ, यसले पर्यावरणलाई पनि सन्तुलन राख्ने अपेक्षा लिएका छौँ ।”

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले कालिका मन्दिर देशकै महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल रहेको हुँदा यस क्षेत्रमा रुद्राक्ष रोप्नु अति उपयोगी हुने बताउनुभयो । धार्मिक संस्कृतिसँग जोडिएको रुद्राक्षले बागलुङ कालिकाको झनै गरिमा बढ्ने उहाँको भनाइ छ । रुद्राक्षले फल दिन थालेपछि यहाँ आउने दर्शनार्थीका लागि थप आकर्षिण बन्ने श्रेष्ठले बताउनुभयो । यसले धार्मिकसँगै मन्दिरको थप नयाँ पहिचाहन बनाउने उहाँको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?