गाउँमै मौरीपालनबाट आत्मनिर्भरता तर्फ कुमार ,१००० मुढे घार पुर्याउने योजना

नुवाकोट – परम्परागत ज्ञानलाई आत्मसात गर्दै गाउँमै मौरीपालन व्यवसायलाई अगाडि बढाइरहेका छन् नुवाकोट चौघडाका कुमार तामाङ। उनले आफ्नै घरकाभित्र, बार्दली र वरपर मुढे घार राखेर मौरीपालन गर्दै आएका छन्। हाल उनका २१ वटा मुढे घार सञ्चालनमा छन्।
कुमारले मौरीपालनलाई व्यवसायिक स्वरूप दिने लक्ष्यसहित भविष्यमा एक हजार मुढे घार पुर्याउने योजना बनाएका छन्। उनका अनुसार, परम्परागत तरिकाले पालिएका मौरीहरूको मह स्वादिलो र औषधीय गुणले भरिएको हुन्छ।
“केही वर्ष विदेश बसेँ, तर गाउँको माटोले बोलायो,” भन्छन् कुमार, “यहाँ आफ्नै जमिनमा केही गर्ने चाहना थियो, अहिले मौरीपालनबाट आत्मनिर्भर हुने दिशामा अघि बढेको छु।”
मुढे घारबाट संकलित मह उनले स्थानीय बजारमा बिक्री गर्दै आएका छन्। माग बढ्दै गएपछि उत्पादन बढाउने सोच बनाएका कुमार अब यो पेशालाई अझ व्यवस्थित विस्तार गर्ने योजनामा छन्।
कुमार तामाङको यो कदमले गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावनाको संकेत दिएको छ। साथै, परम्परागत सीप र आधुनिक सोचको संयोजनमार्फत ग्रामीण विकास कसरी सम्भव छ भन्ने उदाहरण पनि बनेका छन् उनी।
कृषक सूचना – कुमार तामाङको प्रेरणादायी यात्राको भिडियो हेर्न नभुल्नु होला।