अनदी धान: रैथाने स्वाद र संस्कृतिको धरोहर

अनदी धान: रैथाने स्वाद र संस्कृतिको धरोहर
नेपालको धान खेतीको इतिहास हजारौं वर्ष पुरानो छ, जसमा विविध भौगोलिक क्षेत्रअनुसार फरक–फरक रैथाने जातका धानहरू फस्टाएका छन्। तीमध्ये एक विशेष महत्व राख्ने, तर अहिले लोपोन्मुख अवस्थामा पुगेको धान जात हो—अनदी धान। परम्परा, स्वाद र सांस्कृतिक मूल्यले भरिपूर्ण यो धान आज हाइब्रिड र उन्नत जातका धानसँग प्रतिस्पर्धा गर्न नसकेर इतिहासमा विलिन हुने खतरा झेलिरहेको छ।
रैथाने गौरवको प्रतिनिधि
अनदी धान नेपालको मौलिक रैथाने धान हो, जुन विशेषगरी मध्य पहाड र तराईका केही क्षेत्रहरूमा यदाकदा फाट्टफुट्ट रूपमा खेती हुँदै आएको छ। परम्परागत रूपमा यो धान मुख्यतः चाडपर्वमा प्रयोग हुने भएकाले किसानहरूले आफ्नो पारिवारिक आवश्यकताअनुसार मात्र थोरै मात्रामा यसको उत्पादन गर्दै आएका छन्।
स्वाद र परिकारको विशेषता
अनदी धानको चामल ‘स्टिकी राइस’ को रूपमा पनि चिनिन्छ। पकाउँदा यो चिप्लो र लसिलो हुने भएकाले यसलाई लट्टे भनिने विशेष परिकार बनाउन प्रयोग गरिन्छ। नेपाली समाजमा पुस १५ गते अनदीको लट्टे खाने परम्परा रहिआएको छ भने तीजमा दरका रूपमा पनि यसको अत्यधिक प्रयोग हुन्छ। यस्तै, अनदी चामलबाट बन्ने चाम्रे, ढिक्री, चिचर, सेल आदि परिकारहरूले पर्वको स्वाद र सांस्कृतिक भावना झनै जीवन्त बनाउने गर्छन्।
लोपोन्मुख परम्परा
विगत केही दशकयता हाइब्रिड र उन्नत जातका धानहरूले उच्च उत्पादनको नाममा बजार कब्जा गर्न थालेसँगै अनदी धान जस्ता मौलिक जातहरू विस्थापित भइरहेका छन्। त्यसले नेपाली समाजको सांस्कृतिक विविधता, परम्परागत खानपान र जैविक सम्पदामा गम्भीर असर पुर्याइरहेको छ। यदि समयमै संरक्षणको पहल गरिएन भने, अनदी धान मात्र होइन, त्यससँग जोडिएको नेपाली संस्कार, स्वाद र इतिहास पनि सँगै हराउँदै जानेछ।
संरक्षण र पुनरुत्थानको आवश्यकता
अनदी धानलाई पुनर्जीवन दिनका लागि यसको बीउ संकलन, संरक्षण र पुनः उत्पादनमा लाग्नुपर्ने बेला आएको छ। स्थानीय तह, कृषि वैज्ञानिक, तथा सांस्कृतिक अभियन्ताहरूले हातेमालो गरेर रैथाने बीउका धानहरूको मूल्य र महत्व समाजमा पुनः स्थापित गर्न आवश्यक छ।
अनदी धान केवल खाद्यान्न होइन, यो नेपाली पहिचान, परम्परा र आत्मस्वाभिमानको प्रतीक हो। यसलाई बचाउनु हाम्रो साझा जिम्मेवारी हो।
#krishisuchana #krishinews #farmerlife #agriculture