गुल्मीमा एकै बोटबाट ५० किलो काँक्रो फलाउने किसान, दैनिक आम्दानी ५० हजार

खर्जाङ – गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–५, खर्जाङका अगुवा किसान बिष्णु भण्डारीले व्यवसायीक काँक्रो खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ। पुर्णिमा कृषि फर्ममार्फत उहाँले एउटै बोटबाट ५० किलोसम्म काँक्रो फलाउँदै दैनिक १० क्विन्टल उत्पादन गरी करिब ५० हजार रुपैयाँ बराबरको बिक्री गर्दै आउनुभएको छ।
भण्डारीका अनुसार, उहाँले बाहिर खुल्ला रुपमा गरेको काँक्रो खेती चैत्र महिनाको पहिलो हप्ताबाट टिप्न सुरु गर्नुभएको हो। अहिले गर्मी बढेसँगै उत्पादन अझ वृद्धि हुने उहाँको अनुमान छ। “सुरुमा उत्पादन लिँदा दैनिक १० क्विन्टलसम्म बिक्री भइरहेको छ, गर्मीयाममा यो अझै बढ्छ,” उहाँले भन्नुभयो।
काँक्रो खेतीबाट उत्साहित भण्डारीले यसपालि यही खेतीबाट मात्र तीस लाख रुपैयाँ कमाउने लक्ष्य राख्नुभएको छ। उहाँको यो प्रयासले व्यावसायिक कृषिमा लागेका अन्य किसानहरूलाई पनि प्रेरणा मिलेको छ। परम्परागत खेतीभन्दा व्यावसायिक तरकारी खेतीबाट छोटो समयमा राम्रो आम्दानी गर्न सकिने उदाहरण भण्डारीले प्रस्तुत गर्नुभएको छ।
स्थानीय बजार तथा नजिकका शहरहरूमा उहाँले उत्पादन गरेको काँक्रोको माग उच्च रहेको बताइएको छ। भण्डारीको सफलताले खर्जाङ क्षेत्रमा व्यावसायिक काँक्रो खेतीको सम्भावनालाई उजागर गरेको छ।