आमाको सीप र दुई हजारको लगानीले जन्मायो सामाजिक उद्योग, हराउँदै गएको स्वादलाई बजारमा पुर्याउँदै रोजगारिन
काठमाडौँ – कुनै बेला बालबालिकाको क्षेत्रमा सामाजिक कार्यकर्ताको रूपमा सक्रिय रोज गार्डेन प्रधान आज आफ्नै पहिचान बनाएकी एक सफल उद्यमी हुन्। उनको कथा कुनै ठूलो लगानी वा व्यावसायिक योजनाबाट सुरु भएको होइन, बरु आमाको हातबाट सिकेको परम्परागत सीप, दुई हजार रुपैयाँको सानो पुँजी र समाजका लागि केही गर्ने अठोटबाट सुरु भएको हो।
आफ्नो उद्योग “रोज खाद्य उद्योग” मार्फत उनले नेपाली भान्साबाट हराउँदै गएका मस्यौरा, सिन्की, गुन्द्रुक जस्ता रैथाने खानेकुरालाई पुनर्जीवन दिएकी छिन्। “म सानैदेखि आमाको पछि लागेर मस्यौरा बनाउन सिक्थें,” उनी आफ्नो प्रेरणाको स्रोत सम्झिँदै भन्छिन्, “पछि यो सीप हराउँदै गएको र बजारमा पनि पाउन छाडेको देखेपछि यसलाई नै व्यावसायिक रूप दिने सोच आयो।”
उनले २०८० सालमा घरखर्चबाट बचाएको मात्र २,००० रुपैयाँले यो यात्रा थालेकी थिइन्। सुरुमा मस्यौराबाट थालनी गरे पनि बजारमा माग बढ्दै गएपछि उनले आफ्ना उत्पादनहरूमा विविधता थपिन्। आज उनको उद्योगमा मास र कर्कलो, पिँडालु, कुभिण्डो, लसुनको पातदेखि मुग र आलुसम्मका विभिन्न प्रकारका मस्यौरा बन्छन्। यसका साथै, उनले सुकेको करेला, मुलाको चाना, सिन्की, गुन्द्रुक र च्याउ जस्ता घाममा सुकाइएका (Sun-dried) तरकारीहरू पनि बजारमा ल्याएकी छिन्।
“हाम्रा उत्पादनहरू केवल स्वादका लागि मात्र होइनन्, स्वास्थ्यका लागि पनि हुन्,” रोज भन्छिन्, “घाममा सुकाइएका खानेकुरामा भिटामिन-डी प्रशस्त पाइन्छ। अहिले मानिसहरू भिटामिन-डीको कमीले औषधि खान्छन्, तर हाम्रो परम्परागत खानामा नै समाधान थियो।”
उनको व्यवसायको अर्को सुन्दर पक्ष यसमा जोडिएको सामाजिक भावना हो। आफ्नो उत्पादनबाट हुने नाफाको १० प्रतिशत उनी बालबालिका र आमाहरूको सहयोगका लागि च्यारिटीमा छुट्याउँछिन्। “पहिले सामाजिक काम गर्थें, अहिले व्यवसायबाटै समाजसेवा गर्ने अवसर मिलेको छ,” उनी बताउँछिन्।
रोजले किसान र विशेषगरी महिला दिदीबहिनीहरूका लागि एउटा बलियो सन्देश दिएकी छिन्। “सिजनमा खेर जाने तरकारीलाई यसरी सुकाएर राख्दा बेसिजनमा राम्रो मूल्य पाइन्छ। यसले किसानलाई पनि फाइदा हुन्छ र हामीजस्ता घरमा बस्ने दिदीबहिनीले पनि आफ्नो सीप प्रयोग गरेर आयआर्जन गर्न सक्छन्,” उनी भन्छिन्।
उनका उत्पादनहरू हाल धापासी र दरबारमार्गमा लाग्ने हाट बजारमा पाइन्छन्। माग बढेपछि उनले डेलिभरीको सुविधा पनि सुरु गरेकी छिन्। उनको यो प्रयासले देखाएको छ—परम्परागत सीप, सानो लगानी र दृढ इच्छाशक्ति भएमा सफल उद्यमी बन्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
