देशभर मनसुन सक्रिय, यी प्रदेशहरूमा आज भारी वर्षाको चेतावनी
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ, जसका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा आफ्नो सरदर स्थानमा र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले वर्षाको सम्भावना बढेको हो।
महाशाखाले आज दिउँसो र राति देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र केही प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।
आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भू-भागका थोरै स्थानमा पनि वर्षा हुनेछ।
यसैगरी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी कोशी, मधेश र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
