विषादीलाई ‘नो’, माटोलाई माया: कोकिलाको एक दशक लामो तपस्याको फल, रातो ड्रागन
काठमाडौं:
शेरचनले सन् २०१२ देखि नै आफ्नो १० रोपनी जग्गामा पूर्ण अर्गानिक खेती गर्दै आउनुभएको हो। उहाँ आफ्नो फार्ममा कुनै पनि किसिमको रासायनिक मल वा विषादीको प्रयोग गर्नुहुन्न। ‘माटोलाई माया गरे माटोले पनि हामीलाई माया गर्छ’ भन्ने मान्यता राख्ने उहाँ आफ्नो फार्मलाई ‘स्वर्गको एक टुक्रा’ मान्नुहुन्छ, जहाँ प्रकृति र परिश्रमको सुन्दर संगम देख्न सकिन्छ।
ड्रागन फल मात्र नभएर उहाँको फार्ममा मौसमअनुसारका अन्य तरकारी तथा फलफूल पनि उत्पादन हुन्छन्। उहाँ आफ्ना उत्पादनहरू प्रत्येक शनिबार लाग्ने फार्मर मार्केटमा बिक्री गर्नुहुन्छ। साथै, स्वस्थ र ताजा उत्पादनको खोजीमा रहनेहरू सीधै उहाँको बुढानीलकण्ठस्थित फार्ममा पुगेर पनि खरिद गर्न सक्छन्।
कोकिला शेरचनको यो प्रयासले अर्गानिक खेतीको महत्त्वलाई मात्र दर्शाउँदैन, बरु एक मेहेनती किसानले कसरी बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सक्छ भन्ने प्रेरणा पनि दिन्छ। विषादीयुक्त खानेकुराको विकल्प खोजिरहेका उपभोक्ताका लागि कोकिला दिदीको ड्रागन फल एक स्वस्थ र मीठो रोजाइ बनेको छ।
