चक्रवात ‘मोन्था’ को प्रभाव: देशभर बदली, भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, कात्तिक १४ गते। बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ ले नेपालको मौसममा गहिरो प्रभाव पारेको छ। हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको यस प्रणालीका कारण नेपालको मौसम आज शुक्रबार साँझसम्म प्रभावित हुने र त्यसपछि क्रमशः सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायु र अरब सागरमा बनेको अर्को न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले मौसम थप जटिल बनेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा सामान्य बदलीको सम्भावना छ।
कोशी र मधेश प्रदेशका अधिकांश स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका केही स्थानमा र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ। यसैगरी, कोशी र मधेश प्रदेशका थोरै स्थान तथा गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मध्यम हिमपात हुनेछ। कर्णाली प्रदेशका केही स्थान र अन्य उच्च पहाडी/हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि मध्यम हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भेगमा भारी हिमपातको समेत चेतावनी जारी गरिएको छ।
आज राति कोशी, मधेश र बागमती प्रदेशमा पूर्ण बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशसहित बाँकी भू-भागमा सामान्य बदली हुनेछ।
कोशी र मधेश प्रदेशका धेरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना छ।
कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि अनुमान गरिएको छ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मध्यम हिमपात हुनेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र अन्य उच्च भेगका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागले मौसमको यस परिवर्तनशील अवस्थालाई ध्यानमा राखी सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। विशेषगरी यात्रा गर्ने तथा उच्च हिमाली क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन सल्लाह दिइएको छ।
