कोरोनाको प्रभाव : जीर्ण बनिसकेको ढिकीजाँतो र हाते मुसलको आवाज गुञ्जिन थाल्यो

धान कुट्ने ढिकी

दुल्लु: नारायण नगरपालिका–२ का जगत थापाका घरमा ढिकीको ओखल प्रयोगमा नआउँदा फालिएको ढुङ्गाका रूपमा परिणत हुँदै गएको थियो । ओखलको आकृतिलाई उनका बुबा र आमालाई मात्र त्यो ढिकीको हो भन्ने थाहा थियो बाँकी कसैलाई पत्तो थिएन । उनीहरु बाहेकलाई काम नलाग्ने ढुङ्गा नै लाग्थ्यो । आजभोलि त्यो काम नलाग्ने ढुङ्गा नै घरको भान्सा तयार गर्ने पीठो, चामल र दाल तयार गर्ने मेसिन भएको छ ।

आजभोलि प्रत्येक दिन पिसानी कुटानीमा प्रयोगमा आएको छ । जीर्ण बनिसकेको ओखललाई पुनर्निर्माण गरी ढिकीमा परिणत गरी कुटानी पिसानी गर्न थालिएको छ । आफ्नो पालाको ढिकी फेरि छोराले बनाएर कुट्ने पिस्ने काममा ल्याउँदा उनका बुबा ९० वर्षीय भीमबहादुर थापा पनि हर्षित छन् । आफू तत्कालीन समयमा भारतीय सेनामा कार्यरत भएको पहिलो छुट्टीमा आउँदा २०३० सालमा ढिकी घरमा हालेको सम्झना गर्छन् ।

उनी धेरै वर्ष यो ढिकीमै कुट्ने पिस्ने गरियो यी सबै केटाकेटी नै त्यही ढिकीको भात र रोटी खाएर हुर्केको बताउँछन् । २०४३ सालमा पानी मिल र घट्ट पनि बन्यो अनि बल्ल त्यहाँ जान थालेको उनको अनुभव छ । २०५२ सालमा गाउँमै टुकटुके मिल बनेपछि यो ढिकीको प्रयोग हुन छोड्यो छोराबुहारीलाई नि सजिलो भयो सबै मिलमा जान थाले त्यसपछि यो ढिकी भत्केको हो यो ओखलमात्र थियो फेरि पुरानै ढिकी ठडियो । उनले भने, “आफ्ना त हातखुट्टा आउँदैन अहिले सबै मिलमा जान्छन् तर यो कोरोनाले फेरि ढिकी घरमा छोराले बनायो, अब यी सबै रोगभोग हेर्दा पुरानै जमाना आउन लागेको छ । ”

विसं २०५२ मा ढलेको ढिकी थापाको आगनमा फेरि जस्ताको उस्तै बनेको छ । अहिले प्रत्येक दिन थापाको घरमा ढिकीको आवाज सुनिन्छ त्यसैको कुटानी पिसानीबाट भान्सा तयार हुन्छ । भुलिसकेको ढिकीजाँतो फेरि कोरोनाले बनाएर कुट्ने पिस्ने बनाएको जगत थापाले बताए ।

गाउँका मिल सबै बन्द छन् त्यसमा नि कोरोना सर्ला भन्ने डर अहिले आफूलाई न कुट्ने पिस्नेको चिन्ता न कोरोना सर्ने डर घरमा सबै मिलेर काम गर्दा सहज अनि मिलमा जाने पैसाको नि बचत भाको उनको भनाइ छ । अहिले उहाँको मात्र होइन प्रायः जीर्ण र भत्काइसकेका ढिकीजाँतो र हाते मुसल घरघरमा निर्माण गरिएका छन् ।

भैरबी–३ का सर्बराज थापाको घरमा पनि अहिले जाँतो र ढिकी छ । उनी अहिले कुटानी पिसानी ढिकीजाँतोबाटै गर्ने गरेको बताउँछन् । मिलमा पिसेको– कुटेकोभन्दा स्वाद पनि मीठो भएको र त्यहाँ जाने पैसा नि बचत भएको अनि मिलबाट रोग सर्ने खतरा पनि आफूहरुलाई नभएको उनले जानकारी दिए। आजभोलि गाउँघरमा बिहानबेलुकी ढिकीजाँतोको आवाज आउन थालेको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारी बताउँछन् । आधुनिक मिल र पानीघट्टले लोभ नै हुन थालेका यी हाम्रा परम्परागत कुटानी–पिसानीका साधन कोरोनाका कारण मिल बन्द हुँदा पुन निर्माण अनि पुनः प्रयोगमा आएकामा आफू खुशी भएको उनको भनाइ छ ।

“हाम्रो मौलिकता हराइसकेको थियो भने अग्र्यानिक खाना खान छोड्दा अनेकौँ रोगको सिकार नि भएका थियौँ । कम्तीमा आत्मनिर्भर र अग्र्यानिक खाना त खान पाउने भए अर्को नयाँ पुस्ताका लागि यी सामग्रीका बारेमा बुझ्ने मौका मिल्यो । ” उनले भने । आधुनिक मिल र पानीघट्टको प्रयोगले लोभ हुनै थालिसकेको ढिकीजाँतो र हाते मुसलको पुनः प्रयोग हुन थालेको छ । कोरोनाका कारण प्रशासनले लगाएको निषेधाज्ञा र आफूलाई नि कोरोना सर्ने डरले सञ्चालकहरुले मिल र घट्ट बन्द गरिदिँदा ढिकीजाँतो र हाते मुसलको प्रयोग गर्नेको सङ्ख्या बढेको हो । अहिले अधिकांश गाउँमा कुटानी–पिसानी कार्यमा यी पुराना साधनको प्रयोग हुन थालेको हो ।

मिल र पानीघट्ट सञ्चालकले बन्द गर्दा यी पुराना परम्परागत साधनको पुनर्निर्माण र पुनः प्रयोग गर्न बाध्य भएको स्थानीयवासीले बताउँछन् । लकडाउनदेखि आफूले मिल बन्द गरेको थापा कुटानी–पिसानीका सञ्चालक हस्तबहादुर थापाले जानकारी दिए । उनले भने “अब त गाउँमा कोरोनाको जोखिम छ भन्ने सुनिन्छ कति त मिलमा आउँछन् । आफैँले नचलाउने भनी फर्काउने गरेको छु । ” पैसाको लोभले मिलमा आएकाबाट कोरोना गाउँमा फैलिने हुँदा आफूले सबैलाई बरु ढिकीजाँतोबाटै कुटानी–पिसानी गर्न सल्लाह दिएको उनी बताउँछन् । अहिले गाउँमा सबैले ढिकीजाँतो प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

लोप नै भइसकेका ढिकीजाँतो र हाते मुसल पुनः प्रयोगमा आउँदा अग्र्यानिक खाना पनि खान पाउने परम्परागत संस्कृति पनि जोगिने अवसर आएको शिक्षक पार्वती पोख्रेलले जानकारी दिए । विद्यार्थीलाई ढिकीजाँतोका बारेमा पढाउँदा के हो यो कस्तो हुन्छ भन्ने प्रश्न गर्थे अब उनीहरुका लागि नि प्रयोगात्मक शिक्षा हुने उनको तर्क छ । अहिले सबै गाउँमा ढिकीजाँतोको र हाते मुसलको आवाज फेरि गुञ्जिन थालेका छन् । गाउँहरु पुरानै मौलिकता फर्किएको भान भएको रमेश खड्का बताउँछन् । करीब २० वर्षपछि पहिलेकै गाउँमा बसेको अनुभव भएको पुरानो गाउँको कुनै अनुभव हुन्थेन सबै आधुनिक जीवनशैलीको रहनसहनमा थिए । बल्ल ढिकीजाँतोको आवाजले उस्तै अनुभव भएको उनले बताए। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?