भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन् !

किसानलाई भैँसी

डोटी: सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ का किसान अहिले पनि यही अन्धविश्वासमा भैँसीको दूध बजारमा बिक्री गर्न मान्दैनन् ।

अशिक्षा तथा जनचेतनाको कमीका कारण किसानले दूध बिक्री वितरण गर्न नमान्ने गरेकाले प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारस्थित बगलेक तथा झिग्रानाका पसल तथा होटेलमा दूध नहालेको कालो चिया मात्रै बिक्री वितरण हुँदै आएको स्थानीयवासी तापसिंह साउदले बताए ।

उनले भने, “भैँसी पाल्ने किसान दूध बिक्री गर्न मान्दैनन्, यहाँ आउने आन्तरिक पर्यटकले दूध हालेको चिया माग्छन् तर दूध नहुँदा कालो चियामै चित्त बुझाउनुपर्छ ।” यस क्षेत्रमा खोलिएका होटेल, पसल, होमस्टे तथा सेनाको ब्यारेकमा दूधको माग भए पनि किसानले दूध बिक्री नगर्ने गरेका कारण समस्या हुँदै आएको स्थानीय व्यापारीको गुनासो छ । आफ्ना परिवारबाहेक बाहिरबाट आएका पाहुँनालाई समेत दूध नदिने तर दिनै परे मोही पनि मुस्किलले दिने गरेको जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए ।उनले भने, “भैँसीको दूध गैर घरपरिवारलाई दिन हुन्न र बिक्री पनि गर्न हुन्न, दिए वा बिक्री गरे भैँसी बिग्रिन्छ भन्ने वर्षौदेखिको अन्धविश्वास अहिले आएर समस्याको विषय बनेको छ ।”

सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको साइन नेपाल नामक गैरसरकारी संस्थाले दूध बिक्री वितरण गरे भैँसीले दूध दिन नछोड्ने र भैँसी पनि नबिग्रिने भन्दै किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने भएकोे छ । बगलेक र झिग्रानामा दूधको निकै आवश्यकता भएकाले हामीले किसानलाई दूध बेच्न प्रोत्साहित गर्न लागेको जानकारी दिँदै संस्थाका अध्यक्ष भक्तराज जोशीले भने, “सबैले दूध बिक्री गरुन भन्ने उद्देश्यले किसानलाई भैँसी नै किनेर दिने तयारी गर्दै अन्धविश्वास अन्त गर्ने पक्षमा छौँ ।”

उक्त संस्थाले झिग्रानाका किसानमा भैँसीलाई गर्भधारण गराउन सहज होस् भन्ने उद्देश्यले रु ५० हजारमा उन्नत जातका राँगा किनेर वितरण गरेको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनका भीमबहादुर विष्टले बताए।उनले भए, “वडाभर प्रायः सबैका घरमा भैँसी पालिएका छन् तर दूध कसैले बिक्री वितरण गर्दैनन्, कोही बिरामी पर्दा दूध चाहिए अन्यत्र गाउँमा जानुपर्ने बाध्यता छ ।”

यहाँका किसानले दूधबाट घिउ बनाएर बजारमा भने बेच्ने गरेको अर्का स्थानीयवासी श्यमबहादुर विकले बताए । उनले भने, “घिउ जति पनि पाइन्छ तर भैँसी बिग्रिन्छ भनेर दूध र मोही दिँदैनन्, अन्धविश्वास कायमै रहेका कारण यहाँ दूधको समस्या पर्दै आएकोे छ ।” जिल्लामा भैँसीपालक प्रर्याप्त भए पनि अधिकांशले दूध नबेच्दा छिमेकी जिल्ला डडेल्धुराबाट मगाउनुपर्ने बाध्यता रहेको पिपल्लास्थित रामजानकी मिष्ठान्न भण्डारका रामबाबु यादवले बताए ।

उनले भने, “जिल्लामा दूधको माग निकै छ, भैँसीपालक किसान पनि धेरै छन् तर दूध बिक्री गरे गाईभैँसीले दूध दिन छोड्छ भन्दै खासै कसैले बिक्री गर्न नमान्ने गरेका कारण हामीले जिल्ला बाहिरबाट मगाएर काम चलाउनु परेको छ ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?