किसान चिन्तित: जमरा सेलाउन नपाउँदै चिसियो किसानको मन

गण्डकी: दसैँको टीकालगत्तै लगातारको वर्षाका कारण यतिखेर धानबालीमा नराम्रोसँग क्षति पुगेको छ। दसैँको जमरा सेलाउन नपाउँदै खेतमा पहेँलपुर भएर पाकेको धान काटेर भित्र्याउन नपाउँदै त्यस यताको लागातरको वर्षाका कारण भिजेकाले किसान चिन्तित भएका छन् ।

वर्षभरका लागि दुःख गरेर लगाइएको धान भिजेपछि यतिखेर किसानको मन रोएको छ। नकाटेको धान पनि पाकिसकेका कारण बोटमै झर्न थालेको छ। कास्की जिल्लामा दसैँयता परेको पानीका कारण २०दशमलव ९३ प्रतिशत धानमा क्षति पुगेको पोखरास्थित कृषि ज्ञानकेन्द्रका प्रमुख शालिकराम अधिकारीले बताए ।

वर्षाका कारण रुपा गाउँपालिकाको ठूली बेँसी, माछापुछ्रे गाउँपालिकाको लाहाचोक, घाचोक, ल्वाङघलेललगायत स्थानको धानबालीमा क्षति पुगेको छ। त्यस्तै, पोखरा महानगरपालिकाका बिरौटा, पामे, पटनेरी, गगनगौँडा, मालमूल, बेगनास, अर्मला, भरतपोखरीका खुर्वादी, आँगेटारी, अमटारी, कुलिङ, छहरा आदि स्थानमा वर्षाले क्षति पुर्याएको छ ।

मादी गाउँपालिकाको मकैखोलालगायत स्थानमा पनि वर्षाले क्षति पुर्याएको छ। धान काट्ने बेलामा पोखराकै फेदीपाटनलगायत स्थानमा बर्खामा जस्तै मूल फुटेपछि किसान कसरी पानी तर्काउने भन्ने चिन्तामा छन्। वर्षाका कारण अन्नपूर्ण गाउँपालिकाका १, २, ३, ४ र ५ नं वडामा लगाइएको धान झारेको गाउँपालिका प्रमुख युवराज कुँवरले जानकारी दिए ।

पाकेको धान झर्नाका साथै बोटै लडेकाले किसानलाई मर्का परेको उनको भनाइ थियोे। जिल्लाका अधिकांश स्थानमा मनसुली धान पाकिसकेका कारण किसानले दसैँको टीका लगत्तै काटेका थिए। त्यस्तै लोकनाथ प्रजातिको र हाइब्रिड प्रजातिका उवारलगायत पाकिसकेका धान पनि काटेका किसान यतिखेर निहिन सुकाउन नपाउँदा चिन्तित छन् ।

यस पटकको पानीले चाँडो पाक्ने हाइब्रिड धानलाई बढी क्षति पुर्याएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए। पामेलगायत स्थानमा पानीले क्षति पुर्याएको उल्लेख गर्दै उनले दसैँ अघिका दिनमा राम्रै घाम लागेका कारण पनि किसान झुक्किन पुगेका हुन् भने ।

“चाँडो धान भित्र्याएर तरकारी खेती गर्ने सोचका कारण पनि दसैँ लगत्तै किसानले धान काटेका थिए”, महाशाखा प्रमुख कडरियाले भने, “रैथाने प्रजातिका धान ढिलो पाक्ने भएका कारण तिनमा भने यो पानीले खासै क्षति पुर्याएको छैन।” नयाँ तथा हाइब्रिड प्रजातिका धानप्रति आकर्षणका कारण कास्की र आसपासका क्षेत्रमा रैथाने प्रजाति लोप हुँदै जानु पनि यतिखेर चिन्ताको विषय बनेको छ ।

उत्पादनका दृष्टिले पनि नयाँ उन्नत जातका धान रोप्न किसान आकर्षित हुन थालेकाले रैथाने जात विस्तारै लोप हुँदै गएको किसान शालिकराम पौडेलले बताए। उनका अनुसार ताल किनारको सिमसार क्षेत्रमा पाइने जङ्गली धान नाभो लगभग लोप भइसकेको छ। धानको अति प्राचीन प्रजातिका रुपमा रहेको नाभोबाटै विस्तारै अन्य धानको विकास भएको मानिन्छ ।

पछिल्ला वर्षमा धेरै रैथाने जातका धान विस्तारै हराउन थालेको छ। रैथाने जातमा अधिकांशमा रोगसँग लड्ने क्षमता कम हुने गरेका कारण रोग प्रतिरोधी जातसँग क्रसिङ गरेर परम्परागत जात संरक्षण गर्ने गरिन्छ। कास्कीमा झण्डै डेढदशक अघिसम्म प्रचलनमा आएका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान लोप नै भइसकेका छन् ।

करिब ३०० मिटरदेखि ६०० सय मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन्। जिल्लामा पछिल्ला वर्षमा गौरिया, बिरम्फुल, आँगा, रमनी, रुदुवा मार्सीजस्ता धान पाउन छाडेको छ। नयाँ जातका धानको आगमनसँगै परम्परागतरुपमा रोपिने पोखरेली मसिनो (पहेँले), मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेको यहाँका किसानदे बताए ।

कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेँले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, बिरम्रफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायत धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन्। पछिल्लो समयमा जिल्लामा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंलेजस्ता धान धेरै मात्रामा रोप्ने गरिएको कृषक पौडेलले बताउनुभयो ।

बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ किसान हाइब्रिड जातका धानमा लोभिने गरेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो। आँगा, अनदी जस्ता धेरै औषधीय गुण बोकेका धान विस्थापित हुँदै गएका छन् भने बढ्दो रासायनिक मलको प्रयोगबाट जेठोबूढो, पहेँंले, बिरम्फूलजस्ता बास्नादार धानमा पनि बास्ना आउन छाडेको छ ।

कास्कीमा पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको शिशुवा, पटनेरीलगायत स्थानमा बढ्दो प्लटिङका कारण धान खेतीमा कमी आउन थालेको छ। बढ्दो सहरीकरण, प्लटिङ आदिका कारण धानखेत घडेरीमा परिणत हुनु पनि यतिखेर समस्याका रुपमा देखिएको छ ।

पोखरेली शिक्षासेवी एवं साहित्यकार तारा पाखे कृषि प्रधान देश नेपालमा बढिरहेको कृषिप्रतिको अनिच्छा र बढ्दो खेत प्लटिङको यथार्ततालाई व्यङ्ग गर्दै गीती शैलीमा भन्छन्,

“बेंसीका फाँट प्लटिङ भन्दै धेरै नै मासिए ।

लेक र पहाड फाँटका खेत झाडीमा बदलिए ।।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?