आजको मौसम:देशका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं:वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भेगमा यसको सामान्य प्रभाव सुरू भएको हो।
जसका कारण मुलुका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली भई बाँकी स्थानमा भने मौसम आंशिक बदली रहेको महाशाखाले बताएको छ।
आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
