प्राध्यापन सँगसँगै व्यावसायिक कृषिमा दीपकचन्द्र
दोधारा चाँदनी :सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट प्राध्यापन सँगसँगै व्यावसायिक कृषिमा लाग्नुभएको छ ।
एक दशकदेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा ग्रामीण विकासको उपप्राध्यापक रहनुभएका उहाँ प्राध्यापन बाहेकको समय कृषिमा खर्चिनुहुन्छ । उहाँले महेन्द्रनगरमा कुखुरा पालन, बाग्लुङमा अलैँची खेती र डडेल्धुरामा भटमास प्रशोधन केन्द्रमा लगानी गर्नुभएको छ । विश्वविद्यालयमा प्राध्यापनमा पनि अब्बल मानिनुभएका उहाँ अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्छ ।
“मेरो प्रमुख पेशा प्राध्यापन रहे पनि अध्ययन अनुसन्धान र प्राज्ञिक कार्य नै रुचिको विषय हो”, उहाँले भन्नुभयो, “कृषिबाट आर्थिक लाभ लिनेभन्दा पनि उद्यमशीलताबाट ग्रामीण विकासमा टेवा पुगोस् र समाजमा पनि यो पेशामा रहेका व्यक्तिलाई उत्प्रेरणा मिलोस् भन्ने उद्देश्य हो ।”
उहाँले महेन्द्रनगरमा एक बिघा जग्गा भाडामा लिएर कुखुरा पालन गर्नुभएको छ । करिब १० हजार कुखुरा रहेको फार्ममा चार जनाले परिवारसहित रोजगारी पाएका छन् । “अहिले फार्ममा सात हजार अण्डा दिने कुखुरा छन् । बाँकी अण्डा नदिने कुखुरा छन्”, उहाँले भन्नुभयो, “प्रत्यक्ष सहभागी भएर खट्न नसक्ने भएपछि दाजु दिनेशचन्द्र भट्टलाई जिम्मा दिएको छु ।”
उहाँले कुखुरा पालन व्यवसायमा धेरै चुनौती रहेको बताउनुभयो । विभिन्न समयमा आउने प्राकृतिक प्रकोप, बजारको अभाव लगायत समस्या रहेको उहाँको भनाइ छ । “हामीसँग उत्पादन भएको बेला बजारको समस्या हुन्छ बजार भएको बेला उत्पादन हुँदैन”, उहाँले भन्नुभयो, “यो व्यवसायबाट आर्थिक लाभ नभए पनि चार/पाँच जनाले रोजगारी पाएका छन् ।”
उहाँले अन्य साथीसँगको सहकार्यमा बागलुङमा अलैँची खेती पनि गर्नुभएको छ । “बागलुङमा काम नलाग्ने चार सय रोपनी बाँझो जग्गा लिजमा लिएर अलैँची खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले पनि राष्ट्रिय उत्पादन बढाएर आर्थिक लाभ लिन सकिन्छ ।” उहाँले विभिन्न प्राविधिक कमीकमजोरी, प्रत्यक्ष निगरानीको अभाव र रोगका कारण हालसम्म उत्पादन फस्टाउन नसकेको बताउनुभयो ।
उहाँले डडेल्धुराको भटमास प्रशोधन केन्द्रमा पनि लगानी गर्नुभएको छ । “यो प्रशोधन केन्द्रमा छ सय लगानीकर्ता छन् । यसले पनि यो क्षेत्रमा रोजगारी सिर्जना गरेको छ”, उहाँले भन्नुभयो, “यसले भटमास उत्पादनमा वृद्धि हुन्छ ।”
उहाँले आफूले अध्ययन गरेको विषयलाई समाजमा व्यवहारमा उतार्ने र कृषि व्यवसायप्रति समाजको सम्मान बढोस् भनेर आफू कृषिमा लागेको बताउनुभयो । नेपालमा कृषि व्यवसायमा ठूलो सम्भावना रहेको भए पनि कृषि व्यवसायप्रति हेर्ने समाजको नकारात्मक दृष्टिकोणका कारण यो व्यवसाय व्यावसायीकरण हुन नसकेको उहाँ बताउनुहुन्छ ।
“अहिले पनि नेपालमा भारतीय श्रमिक आएर काम गर्छन्”, उहाँले भन्नुभयो, “सामान्य सीप भएकाले पनि स्थानीय स्तरमै रोजगारी हुनसक्छ तर पेशा गर्नेप्रति समाजले हेर्ने दृष्टिकोणका कारण नेपाली श्रमिक यसतर्फ आकर्षित हुँदैनन् ।” उहाँले जबसम्म कुनै पनि पेशा व्यवसायको सम्मान हुन सक्दैन तबसम्म आर्थिक वृद्धि हासिल गर्न नसकिने बताउनुभयो ।
नेपाल–भारत श्रमिक आप्रवासन विषयमा विद्यावारिधि गरिराख्नुभएका उपप्राध्यापक भट्टले व्यावसायिक रूपमा कृषिमा लाग्नका लागि विभिन्न समस्या रहेको सुनाउनुभयो । “लगानीको सुरक्षा छैन, पेशाप्रति सम्मान छैन यसले गर्दा व्यावसायीकरण हुन नसकेको हो”, उहाँले भन्नुभयो, “म प्राध्यापक पनि कृषिमा लागेको छु भने अरूले किन नलाग्ने? यसलाई सकारात्मक हिसाबले हेर्नुपर्छ ।” यो बाहेक बजारको व्यवस्थापन, सरकारी नीति निर्माणमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
रासस
