चाडबाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

अलैँची

बागलुङ:मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ ।

अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए । “यो वर्ष अलैँचीको मूल्य गत वर्षको तुलनामा घटेको छ”, उनले भने, “एकातिर रोग, किराको प्रकोपले उत्पादन घटेको छ भने अर्कोतिर उचित मूल्य नपाउने स्थिति बनेको छ ।”

किसानहरुले २०७८ सालमा प्रतिकेजी रू १ हजार २ सयमा अलैँची बिक्री गरेका थिए भने २०७७ सालमा भने वर्ष प्रतिकेजी रु छ सयमा अलैँची बिक्री गरेका थिए ।

गलकोट–१ दुदिलाभाटीमा एक सयभन्दा बढी किसान अलैँची खेतीमा आबद्ध छन् । उनीहरुले करिब पाँच सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् ।

गत वर्ष अलैँची बिक्री गरी रु २३ लाख आम्दानी गरेका बरेङ गाउँपालिका–२ हुग्दिशिरका किसान यसवर्ष मूल्य घटेको सुनेर बेखुस छन् । अलैँची टिप्ने चटारोबीच उनीहरुलाई पनि मूल्यको पिरलो थपिएको छ ।

बरेङस्थित नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलले खरिदकर्ताहरु भने अझै आइनपुगेको बताए । “तिहारअघि अलैँची टिपेर सकिन्छ, कतिपय किसानले सुकाइसकेर पनि बेच्न ठिक्क पारेका छन्”, उनले भने, “अहिलेसम्म व्यापारी आइपुगेका छैनन्, त्यसमाथि मूल्य पनि घटेको सुन्नमा आएको छ ।”

अलैँची व्यापारीबीचको अस्वस्थ प्रतिस्पर्धा बढ्दा मूल्य अस्थिर हुने गरेको अध्यक्ष पौडेलको भनाइ छ ।

बरेङमा १९ जना किसानले दुई सय रोपनीमा अलैँची खेती गर्दै आएका छन् । किसानहरुले प्रत्येक वर्ष झण्डै २० क्विन्टल जति अलैँची उत्पादन गर्छन् । जसबाट राम्रो मूल्य पाएको वर्षमा किसानले रु ५ लाखसम्म आम्दानी गरेको किसान तुलसीराम पौडेलले बताए ।
ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय अलैँची कृषि उपज केन्द्रका अध्यक्ष इन्द्रध्वज भण्डारीले अलैँचीको बजारमा बिचौलिया हावी भएको आरोप लगाउनु भयो । “मूल्य बढ्ला र बेचौँला भनि बस्यो तर अन्तिममा जिल्ल पर्ने अवस्था आउँछ, रोग, किरा र जीवजन्तु लागेर पनि हामीलाई हैरान छ”, उनले भने ।

केन्द्रका अध्यक्ष भण्डारीले दुम्सी, भार्से जस्ता जन्तुले समेत अलैँची खेतीमा असर गरेको बताए । “दुम्सीले सँधै बाली नोक्सान गरी दुःख दिन्छ, दुम्सीले खाएर बचेको अलैँची मात्रै हामीले टिप्ने हो”, उनले भने, “वन्यजन्तु र रोगबाट बचाउन सके अलैँची उत्पादन बढाउन सकिन्छ ।”

भण्डारी नौ वर्षदेखि अलैँचीको व्यावसायिक खेतीमा संलग्न छन् । केन्द्रले सय रोपनी क्षेत्रफलमा अलैँची उत्पादन गर्दै आएको छ । अलैँची बेचेर वार्षिक रु आठ लाखसम्म कमाइ हुने गरेको अध्यक्ष भण्डारीको भनाइ छ । ताराखोलामा पनि अलैँचीको ‘ब्लक’ कार्यक्रम सञ्चालित छ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दा नेपाली अलैँचीले उचित मूल्य पाउने र माग घट्दा मूल्य पनि ओरालो लाग्ने गरेको बताए।

“राम्रो मूल्य पाएपछि किसानले उत्पादन बढाउनतिर लाग्छन्, व्यापारीले पछि फेरि मूल्य घटाउँछन् जसले गर्दा किसानलाई मर्का पर्ने गरेको छ”, केन्द्रका प्रमुख भट्टराईले भने ।

उनका अनुसार बागलुङमा अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ ‘पकेट’ र दुई ‘ब्लक’ क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत् किसानले अलैँची खेतीमा अनुदान र तालीम पाएका थिए । जिल्लामा अहिले १२ सय हेक्टरमा अलैँची खेती भइरहेको जनाइएको छ ।

अलैँची रोप्नेदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने काममा किसानको धेरै समय, श्रम र लगानी हुन्छ । बजारको अनिश्चिततासँगै लगानी अनुसारको प्रतिफल नपाए अलैँची खेतीबाट पलायन हुने स्थिति आउने किसान बताउँछन् ।

नेपाली अलैँची काठमाडौँ हुँदै भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पु¥याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?